नख्खु खोलाका बाढी पीडितहरुको गुनासो- एक साता भयो सरकार देखेका छैनौं

आश्विन १८, २०८१ |विकास आचार्य
नख्खु खोलाका बाढी पीडितहरुको गुनासो- एक साता भयो सरकार देखेका छैनौं

काठमाडौं । ललितपुरको नख्खु खोलाका पीडितहरु अझै त्रासमा छन् । बाढीले विध्वंश मच्चाएको एक साता पुगिसक्दा पनि खोला अझै पुरानो स्वरुपमा फर्किएको छैन । न उनीहरुले सरकार भएको आभास नै गर्न पाएका छन् । 

डुबानमा परेको घर सरसफाइ गर्न ढिलाइ हुँदा उनीहरु के खाने र कहाँ सुत्ने भन्ने चिन्तामा छन् । उनीहरुको एउटै गुनासो छ- एक साता भयो सरकार देखेका छैनौं ।

ललितपुरको नख्खुस्थित सयपत्री टोलकी कुमारी शेर्पा तामाङ लेदोसहितको बाढीले घर पुरेपछि आफन्तकोमा बस्दै आउनु भएको छ । उहाँ बिहानै आफ्नो घर पुग्नुहुन्छ, सामान पन्छाउने प्रयास गर्नु्हुन्छ । तर, करिब ४ फिटको लेदो निकाल्ने उहाँसँग हिम्मत पुग्दैन । 

२ छोराछोरीसहित करिब १४ वर्षदेखि उहाँ यही बस्दै आउनु छ । उहाँको श्रीमान असोज ११ गते रामेछाप जाँदा बाढीले बाटो बगाएपछि उतै अड्किनुभएको छ । श्रीमान घर फर्किन सकेका छैनन् । हाल कुमारीसँग न पैसा छ, न खानेकुरा । तर यस्तो विपत्तिमा पनि सरकारले सोधीखोजी नगरेकोमा उहाँको मन दुखेको छ । 

इनारको पानी तानेर लुगा धुँदै गर्नु भएकी उहाँ रिता सुनुवार । उहाँ लेदोले पुरेको कपडा घरबाट निकालेर धोइपखाली गर्दै हुनुहुन्छ । तर, घर बस्न लायक छैन । रामेछापदेखि ललितपुर आएर कुखुरा हाँस पालन र खेती किसानी गर्दै आउनु भएकी उहाँको न हाँस कुखुरा बचे न पाक्न लागेको धान नै जोगियो । उहाँको पनि दुखेसो छ, केही मानिस बिचरा भन्दै आए तर, सहयोग पाइएन । सरकार त कता छ थाहा पत्तो छैन।

गएको साता राष्ट्रिय विपत्तिबाट सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा ललितपुर जिल्लामा भयो । क्षतिको यकिन तथ्यांक निकालिने क्रममै रहेको भए पनि मानवसहित भौतिक संरचनामा ठूलो नोक्सानी ललितपुरले बेहोरेको छ । तर, विपद्पछिको तदारुकतामा तीनै तहका सरकार चुकेका छन् । 


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।