बाढीले खण्डहर बने काभ्रेका गाउँ बस्ती

सडक, बिजुली र इन्टरनेट सबै ठप्प
आश्विन १८, २०८१ |पुजन धिताल
बाढीले खण्डहर बने काभ्रेका गाउँ बस्ती

काभ्रे । असोज ११ र १२ मा गतेको अविरल वर्षाले देशभर जनधनको ठूलो क्षति भयो । सबैभन्दा बढी क्षति बेहोरेको काभ्रेको यकिन विवरण अझै आउन सकेको छैन । धेरै गाउँपालिकामा सडक, बिजुली, इन्टरनेट ठप्प छ । पालिकाको अगुवाइमा क्षतिको विवरण संकलन, राहत वितरण तथा पुर्नस्थापनाको काम थालिएको छ । एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न प्रशासनले १० वटा विषयगत समूह बनाएर काम गर्न अपिल गरेको छ ।

काभ्रेको पनौती नगरपालिका, बेथानचोक, रोशी र तेमाल गाउँपालिका बाढीपहिरोबाट अत्यन्तै प्रभावित क्षेत्र हुन् । पनौती नगरपालिकामा सबैभन्दा बढी क्षति भएको १२ नम्बर वडाका सिंगो बस्ती नै खण्डहर बनेको छ । पनौती नगरपालिकामा मात्रै २० जनाको मृत्यु भएको भएको छ भने २५ जना घाइते छन् ।

५ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन्, २ सयभन्दा धेरै घरमा आंशिक क्षति पुगेको छ । २ हजारभन्दा बढी पशुचौपाया मरेका छन् । ११ किलोमिटरभन्दा धैरै सडक क्षति भएको छ भने खानेपानीको पाइप र सामुदायिक भवन, २० वटा विद्यालय तथा केही स्वास्थ्य संस्थामा क्षति पुगेको छ । मृतक परिवारलाई जनही २५ हजार र घाइतेलाई १० हजार दिने निर्णय गरेको पनौती नगरपालिकाले सहयोग हस्तान्तरण सुरु गरिसकेको छ ।

पीडितहरु भने वडाध्यक्षले सम्भावित विपद्‌बारे समयमा जानकारी नदिएको अनि खानी र क्रसरको अवैध उत्खननकै कारण रोशी खोलाले यति ठूलो नोक्सान गरेको भन्दै आक्रोशित छन् ।

बेथानचोकमा १२ जनाको मृत्यु भइसकेको छ । बेथानचोकको-२ र ४ नम्बर वडा धेरै प्रभावित भए । खानी र क्रसर धेरै भएको चार नम्बर वडामै सबैभन्दा धेरै क्षति भएको छ । रोशी गाउँपालिकाको ३ वटा बजार नै खोलाले बगाएको छ । वडा नम्बर ९ नार्के बजार पुरै बगेको छ भने वडा ११ कालढुंगा नजिकैको बजार र डम्फुपार्क पनि बगेको छ । रोशी खोलाको सिपाली जाने पुल बगेको छ भने फलामेसाँघुको बजारै बगेको छ ।

त्यस क्षेत्रमा बीपी राजमार्ग ११ ठाउँमा भासिएको छ । पीडितहरुले यस्तो बेला सरकारको आड भरोसा खोजिरहेका छन् । तेमाल गाउँपालिकाको २ नम्बर वडामा एकै परिवारका ८ सँगै १० जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिकामा-२, बनेपा नगरपालिकमा-३, भुम्लु गाउँपालिकामा-३, मण्डनदेउपुर नगरपालिकामा-७, चौरीदेउराली गाउँपालिकामा-१ र रोशी गाउँपालिकामा-७ गरी हालसम्म काभ्रेमा ७२ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन् ।

राहत र पुनर्स्थापनाको काम सुरु गरिएको भएता पनि यसलाई एकद्वार प्रणालीमार्फत गर्न १० वटा समिति बनाइएको र स्थानीय सरकारसँगको समन्वयमा मात्र राहत वितरणमा जोडिन काभ्रे प्रशासनले अपिल गरेको छ । नागरिकले अनुभूत गर्नेगरी राहत र पुनर्स्थापनाको काम सञ्चालन गर्न तीनै तहका सरकारको ध्यान जान आवश्यक छ । 


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।