भीमफेदी–कुलेखानी–फाखेल सडक दुई दिनभित्रमा सञ्चालनमा ल्याइने

आश्विन १६, २०८१ |बालकृष्ण अधिकारी
भीमफेदी–कुलेखानी–फाखेल सडक दुई दिनभित्रमा सञ्चालनमा ल्याइने

हेटौंडा ।  हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक मार्ग भीमफेदी–कुलेखानी–फाखेल सडक दुई दिनभित्रमा सञ्चालनमा ल्याउने गरी पहिरो हटाउने काम भइरहेको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

अविरल वर्षाका कारण गत असोज ११ र १२ गते गएको बाढी पहिरोले भीमफेदी–कुलेखानी–फाखेल र भीमफेदी–कुलेखानी–सिस्नेरी सडक अवरुद्ध छ । 

भीमफेदी–कुलेखानी–फाखेल सडक सञ्चालनका लागि प्रदेश सरकार र स्थानीय प्रशासन जुटिरहेका छन् । भीमफेदी–फाखेल सडक खण्डको कुलेखानी डयाममुनि रहेको पुलको दुवैतर्फको पहुँच मार्ग क्षतिग्रस्त छ । उक्त पुलको पहुँचमार्गमा एकातिर करिब १५ मिटर र अर्कोतर्फ १० मिटर बगाएको छ भने करिब १५ मिटर गहिरो खाडल बनाएको छ । 

पहुँच मार्गलाई मर्मत गरी सञ्चालनमा ल्याउन बुधबार बिहानदेखि नेपाली सेना, जनपथ र सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ । बिहीबार बेलुकासम्ममा भीमफेदी–कुलेखानी–फाखेल–हुमानेसम्मको सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले बताउनुभयो । 

हुमाने सडक खण्डको महालक्ष्मी पुल क्षेत्रमा भएको क्षतिग्रस्त सडकको मर्मत कार्य पनि भइरहेको छ । सिस्नेरी सडक खण्डमा फसेका सवारी साधनलाई समेत पहिरो पन्छाएर काठमाडौं पुर्‍याइएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।