किन हुन्छ काठमाडौं उपत्यकामा बर्सेनि डुबान ?

आश्विन १४, २०८१ |सुबिन्द्र श्रेष्ठ
किन हुन्छ काठमाडौं उपत्यकामा बर्सेनि डुबान ?

काठमाडौं । दुई दिन निरन्तर परेको रेकर्डब्रेक वर्षाले काठमाडौं उपत्यका जलमग्न भयो । नदी किनार आसपासका संरचनामात्रै नभई उपत्यकाका विभिन्न स्थानमा रहेका घर, टहरा भत्किए । धेरै जनधनको क्षति भयो । उपत्यकाको अनियन्त्रित र अव्यवस्थित बस्ती, पुरानै ढल तथा निकास प्रणाली र राजनीतिक प्रतिबद्धताको अभावमा राजधानीका बस्ती बर्सेनि मनसुनका बेला यसैगरी जोखिममा पर्ने गरेको छ ।

उपत्यकाका खोलामा बाढी आउने वित्तिकै यहाँको बस्ती विकास प्रणाली गलत छ भन्ने बहस सदैव हुने गरेको छ । तर खोलामा पानी सुकेसँगै सुक्ने यो बहसले निकास भने कहिल्यै दिने गरेको छैन । अव्यवस्थित बस्ती र नदी तथा खोला मिचिने क्रम बढ्दै जाँदा काठमाडौं उपत्यकाले बर्सेनि जलउत्पन्न प्रकोप बेहोर्ने गरेको छ । कतिपय स्थानमा खोला पुरिएका छन् भने बस्ती विकास गरेको स्थानको ढल निकासमा वेवास्ता गर्ने गरिएको छ । जसले गर्दा होचा र नदी किनारका बस्ती डुबानमा पर्ने गरेको जलवायु तथा विपद्‌विद् धर्म उप्रेती बताउनुहुन्छ ।

एकातिर नदी किनारबाट कति टाढासम्म भौतिक संरचना बनाउन नपाइने भन्ने विवाद सर्वोच्च अदालत र सरकारबीच चलिनै रहेको छ । भने अर्कोतिर सरकार आफैंले बनाएका मापदण्डहरुको समेत पालना गरेको पाइँदैन । सहरीक्षेत्रको जोखिम पहिचान गरी समाधानका उपाय कानुनमै उल्लेख गरी सहरी विकास मन्त्रालयले आधारभूत मापदण्ड २०७२ जारी गरे पनि कार्यान्वयनमा बेवास्ता गरिएको छ ।

यो मापदण्डमा ३० डिग्रीभन्दा भिरालो जमिनमा घर बनाउँदा जोखिम हुने भन्दै भूगर्भविद्‌बाट माटो अनिवार्य परीक्षण गर्नु पर्ने उल्लेख छ । तर यसलाई न त एकीकृत बस्ती विकास गर्ने कम्पनीले लागु गरेका छन् । न सरकारले नै । कानुनत: बागमती, मनोहरा र बिष्णुमतीभन्दा २० मिटर टाढामात्र घर निर्माण गर्न पाउने व्यवस्था भए पनि कार्यान्वयन फितलो छ ।

विपदमा राहत र उद्धारमा चिन्ता गर्ने सरकार पूर्वतयारी र वस्ती विकासमा गम्भीर नदेखिएको जानकारको टिप्पणी छ । काठमाडौं उपत्यकाले थेग्ने भन्दा धेरै आवास भइसकेकाले यसको नियन्त्रण पहिलो सर्त हुनुपर्ने जानकारको भनाइ छ ।

'४० प्रतिशत बसोबास र ६० प्रतिशत पर्यावरणीय क्षेत्र हुनपर्ने हो,' सहरी आवास योजनाविद् पद्मसुन्दर जोशी भन्नुहुन्छ, 'तर यो मापदण्ड पहिल्यै हामीले मिचिसकेम अब पनि बस्ति बढ्न नरोक्ने हो भने यो भन्दा ठूलो क्षति हुनसक्छ सरकारले कडाइ गर्नुपर्छ'

काठमाडौं उपत्यकामा बाढी, डुबान, पहिरो र भुइँचालो आउँदा जमिन भासिने जस्ता जोखिम पहिचान भइसकेको छ । उपत्यकामा काठमाडौंको सामाखुसी, गोंगबु, गैरीधारा, शंखमुल र नरेफाँट तथा भक्तपुरको जगाती, सूर्यविनायक, सल्लाघारी, सृजनानगर, राधेराधे, ठिमी र चारदोबाटो सबैभन्दा बढी डुबान हुने क्षेत्र हुन् ।

यस्तै ललितपुरको सुन्दरीघाट, कर्मनाशा, हात्तीवन तथा नख्खु क्षेत्र डुबान हुनेगरेको छ । जलवायु परिवर्तनका कारण केही वर्षयता विश्वमै अतिवृष्टि र अनावृष्टिका घटना बढिरहेका छन् । भविष्यमा अहिलेको भन्दा पनि बढी वर्षा हुन सक्छ । तर त्यस्ता जोखिमको आँकलन गरेर क्षति न्यूनीकरणका लागि पूर्वतयारीको गम्भीरता सरकारमा देखिँदैन ।


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement