ललितपुर । बाढी पहिरोले ललितपुरको दक्षिण भेगमा जनधनको ठूलो क्षति भएको छ । पहिरोले पुरिएर गोदावरी नगरपालिकामा मात्रै १९ जनाको मृत्यु भएको छ ।
लेदोसहितको पहिरो बस्तीमा पस्दा घर पुरिएर धेरै परिवार विस्थापित भएका छन् । ठूल्ठूला पहिरोले सडक अवरुद्ध हुँदा नगरपालिकाका १४ वटै वडामा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन ।
पहिरोले पुरिएका टिकाभैरवस्थित आनन्द वन अस्पतालका कर्माचारीको शव तीन दिनदेखि निकाल्न सकिएको छैन भने देवीचौरमा दुई दिनपछि हिजो चार जनाको शव निकालिएको थियो । पहिरोले पोल ढालेपछि केही वडामा विद्युत, टेलिफोन इन्टरनेटलगायतका सेवा ठप्प छन् भने मुहान पुरिएपछि पिउने पानीकोसमेत हाहाकार भएको छ ।
यस्तै दक्षिण ललितपुरको कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा पनि बाढी र पहिरोले निकै धेरै क्षति पुर्याएको छ ।
सडक, विद्युत र सञ्चार सम्पर्क टुटेकोले त्यस क्षेत्रको क्षतिको यकिन विवरण आइसकेको छैन । कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरेले पालिकामा ३ जनाको ज्यान गएको छ भने ७० भन्दा धेरै घर बाढीले बगाएको छ ।
विस्थापितहरु छिमेकीको शरणमा छन् । बाढी र पहिरोले सडक भत्केपछि विद्युत समेत अवरुद्द छ । बागमती र महांकाल गाउँपालिकाका पनि मृतक र क्षतिको पूरै विवरण आइसकेको छैन ।