बझाङ । जयपृथ्वी नगरपालिका-१ चिउरीका नविन सिंह बिहीबार मात्रै चितवन गएका थिए ।
रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक पढिरहेका उनको सपना कृषि विज्ञ बन्ने थियो । अन्तिम वर्षको पढाइ सके पछि डोल्पा जिल्लामा ओजेटी गरेका नविन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए ।
ओजेटीको रिपोर्ट बुझाए पछि काठमाडौंमा रहेका आमा र बहिनीलाई सँगै बझाङ फर्किने सल्लाह थियो । त्यही भएर उनि शुक्रबार नै हतारमा काठमाडौं फर्किदै थिए । दुर्भाग्यवस उनि चढेको बस धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरियो । नविन कहिले नर्फकने गरि अस्ताए ।
‘डकुमेन्ट बुझाई सकें । भोली धेरै पानी पर्ने कुरा छ । म काठमाडौं हिंडे है भनेर शुक्रबार साँझ आफ्नो बुवालाई फोन गरेको थियो । नविनका आफन्त सुन्दर सिंहले भन्नुभयो, ‘त्यस पछि सम्पर्क विहिन भएको हो । आइतबार साँझ त उ चढेको गाडी पनि पहिरोमा पुरिएको रहेछ भन्ने थाहा पायौं ।
पढाईमा निकै जेहेन्दार नविन पुर्ण छात्रवृतीमा रामपुर क्याम्पसमा पढिरहेका थिए । मिलनसार र मिजासिलो व्यवहारले गाउँमा पनि सबैको प्यारो नविनको मृत्युको खबरले सिङ्गै वडा नै शोकमा छ ।
नविनको मृत्युको खबरले उनका साथीभाई र उनलाई पढाउने शिक्षकहरु पनि भाव विह्वल भएका छन् । बीएससीको अध्ययन सकिएकाले दुई वर्ष विदेश गएर पढ्ने र भविष्यमा कृषिविज्ञ बन्ने सपना बुनेका नविनको मृत्युले परिवारमा मात्रै नभएर सिङ्गै गाउँलाई क्षती पुगेको कैलास पति आधारभुत विद्यालयका शिक्षक गोपाल विस्टले बताउनु भयो । ‘त्यतिको ट्यालेन्ट र व्यवहारिक मान्छे गुमाउनु पर्दा सबै दुखी भएका छौं- उहाँले भन्नुभयो ।
२५ वर्षीय नविनको शव बुझ्नका लागि उनका बुवा नरेन्द्र सिंहलगायत आफन्तहरु काठमाडौं पुगिसकेका छन् । उनको दाहसंस्कार सोमबार पशुपति आर्यघाटमा गर्ने तयारी परिवारको छ ।