
पाँचथर । फाल्गुनन्द गाउँपालिका-५ का ७२ वर्षीय नरेन्द्र चेम्जोङको शव स्थानीय जीउजीया खोलामा भेटिएको छ ।
असोज ११ गते सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र घुर्विसे पञ्चमी गएका चेम्जोङ सोहि दिन अपरान्हदेखि सम्पर्क विहिन थिए । उनको शव आइतबार बिहान स्थानीयले जीउजिया खोलामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथर प्रहरी प्रवक्ता (इन्स्पेक्टर) बेनिलाल साहका अनुसार बृद्वको शव इलाका प्रहरी कार्यालय रबिबाट खटेको टोलीले झिकेर पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र रवि लगेको पनि साहको भनाई छ ।
भत्ता बुझेर घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा उनको ज्यान गएको हुनसक्ने गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्वेले बताउनु भयो ।
बृद्धको शव फेला परेसँगै पाँचथरमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । ६ जना बेपत्ता छन भने तीनजनाको सकुसल उद्वार भएको छ ।
यसैबीच तमोर नदी अन्तरगत धनकुटाको मुलघाट पश्चिम फलामेटारमा दुई जनाको शव भेटिएको छ । भेटिएका दुवै शव महिलाको रहेको स्थानीयले बताएका छन् ।
एउटा धनकुटा र एउटा तेह्रथुम जिल्ला तर्फ शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डिएसपी) हेमन्त भण्डारीले जानकारी दिनुभयो । पहिचान हुन नसकेका ती शव पॉचथरको फिदिम १ स्थित फेमेखोलाबाट बगेको हुनसक्ने अनुमान प्रहरीको छ । यद्यपी पहिचान भने हुन बॉकी छ ।
धनकुटा तर्फ भेटिएको शव पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा लैजानुका तेह्रथुम तर्फ शव भएका स्थानतर्फ बसन्तपुरबाट प्रहरी जाँदै गरेको पनि भण्डारीको भनाई छ ।
बाढीमा परेर फिदिम १ का कृष्ण दाश,उनकी श्रीमती कमला दाश,धनकुमार तुम्वापो,राजेश तुम्वापो, उनकी श्रीमती सरस्वती तुम्बापो र फालेलुङ ५ की ३६ वर्षीया कमला राई, बेपत्ता छन् ।