बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या १३३ पुग्यो, ६८ जना अझै बेपत्ता

आजदेखि मौसममा क्रमिक रुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाको भनाइ
आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या १३३ पुग्यो, ६८ जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण देशभर १३३ जनाको मृत्यु भएको छ । बाढी पहिरो र डुबानमा परि देशभर ६८ जना बेपत्ता भएका छन् भने कम्तीमा एक सय जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । सडक, पुल, विद्युतलगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै ३७ जनाको मृत्यु भएको छ । उपत्यका बाहिर ९६ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा १८ जना घाइते भएका छन् भने उपत्यकाबाहिर ८२ जना घाइते भएका छन् । उपत्यकामा २० जना बेपत्ता भएका छन् भने उपत्यकाबाहिर ४८ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको बताइएको छ ।

बाढी पहिरो र डुबानले देशभर एक सय ९५ घरमा क्षति पुगेको छ भने पाँच वटा पक्की पुल पनि बगाएको छ । नदी, खोला, खोल्सा र खहरेमा आएको बाढीले तटीय क्षेत्र तथा नजिकैका बस्तीमा जनधन क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कम्तीमा १ सय ९५ घरमा क्षति पुगेको नेपाल प्रहरीको प्रारम्भिक तथ्यांक छ । मनसुनजन्य प्रकोपबाट बिहीबारयता ६४ स्थानमा सडकखण्ड अवरुद्ध बनेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको तातोपानीमा भोटेकोशी र पाँचथरको हेवाखोलाको बेलिब्रिज बगेका छन् । उदयपुर र खोटाङ जोड्ने खोक्सिङटार तथा रामेछाप र सिन्धुली जोड्ने खुर्कोट नजिकै मोटरेबल पुल पनि बगेका छन् । पहिरोका कारण संघीय राजधानी जोड्ने मुख्य राजमार्ग सबैमा यातायात सेवा अवरुद्ध छ ।

बाढीपहिरोबाट आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । केही प्रसारणलाइनमा समेत क्षति पुग्दा १३ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमताका आयोजना बन्द भएका छन् । का ठमाडौं उपत्यकामा बाढीले सयौं घर डुबानमा परेका छन् । बागमती, विष्णुमती, रुद्रमती, बल्खु, मनोहरा, नख्खुलगायत नदी तथा खोला बस्तीमा पसेका थिए ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा ५४ वर्ष यताकै अधिक वर्षा भएको जनाएको छ । हिजो साँझबाट काठमाडौंमा वर्षा रोकिएको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज १० देखि १३ सम्म भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन र जोखिम औंल्याइएका स्थान हुँदै सडक यातायात सञ्चालन नगर्न अनुरोध गरेको थियो। तर त्यसलाई समेत बेवास्ता गरेर कतिपय स्थानमा सवारीसाधन चलाइएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.