वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न जेन-जीको माग

आश्विन २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न जेन-जीको माग

काठमाडौं । भ्रष्टाचार र बेथितिको अन्त्यको माग गर्दै जेन-जी प्रतिनिधिहरूले राज्यका विभिन्न निकायमा ध्यानाकर्षण गराएका छन ।

जेन-जीका सुदन गुरुङ, मिराज ढूङ्गानालगायतका प्रतिनिधिले आइतबार नेपाल वायु सेवा निगम पुगेर ध्यानाकर्षण गरेका हुन् । उनीहरुले नेपाल वायु सेवा निगममा भएका भ्रष्टाचार तथा घोटालाको छानबिन गरी पारदर्शी सेवा प्रवाहका लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएका हुन ।

सार्वजनिक लेखा समितिले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अरबौं अनियमितता भएको विषयमा अख्तियारलाई निष्पक्ष छानबिन गर्न, वाइडबडी खरिद प्रक्रियामा भएको अनियमितता, लाउडा काण्डलगायतका भ्रष्टाचारमा छानबिन हुनुपर्ने र वायु सेवा निगमले छानबिन गर्न सहयोग गर्नुपर्ने माग राखेका छन । 

उनीहरुले स्वतन्त्र छानबिन आयोगपनि माग गरेका छन् भने २०४७ सालदेखिका निगममा आवद्ध सबै कर्मचारी तथा पदाधिकारीको सम्पत्ति छानबिन, भाडा समायोजनलगायतका माग राखेका हुन् । तत्काल कार्यान्वयन नभए राजीनामा दिएर मार्ग प्रशस्त गरिनुपर्ने उनीहरूको माग छ ।

त्यस्तै गत मंगलबार पनि जेन-जी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले प्रमुख आयुक्त राई नै विभिन्न आरोपमा मुछिएकाले अख्तियारले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका थिए । 

जेन-जी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् । जेन-जी मुभमेन्ट अलायन्सले अघिल्लो दिन नै इमेलमार्फत राजीनामा दिन माग गर्दै दबाबमूलक पत्रसमेत आयोगमा पठाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.