वीपी राजमार्गमा डाभर्सन बनाइँदै, रोशीले बगाएको सडक भने मर्मत गर्न कठिनाइ

आश्विन १३, २०८१ |राजकुमार कार्की
वीपी राजमार्गमा डाभर्सन बनाइँदै, रोशीले बगाएको सडक भने मर्मत गर्न कठिनाइ

सिन्धुली । वीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोसी गाउँपालिका-७ कानढुंग्रीमा भासिएको सडक डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ । 

शनिबार साँझसम्म सञ्चालनमा रहेको सडक सुनकोसी नदीले कटान गर्दा आइतबार बिहान कालोपत्रेसहित धसिएर खसेको थियो । सुनकोसी नदीले कटान गर्दै आएकाले धसिएको करिब ५० मिटर सडक डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनु्भयो । 

सेनाको भवानी वक्स गणले भित्तापटीबाट डाइभर्सन सडक ४ घन्टा लगाएर बनाएको हो । सुनकोसी मरिण डाइभर्सनको सुरुङमार्ग नजिकै सडक धसिएको हो ।

नेपालथोक–खुर्कोट खण्डको कमेरेफाँटमा खसेको लेदोसहितको पहिरो समेत पन्छाउने काम अन्तिम चरणमा पुगेकाले बीचमा फसेका सवारी साधनलाई साँझसम्म सिन्धुलीमाडीतर्फ नै फर्काउन सकिने एसपी काफ्लेको भनाइ छ । 

नेपालथोक नजिक रोशी खोलाले बगाएको करिब ६० मिटर सडक खण्डमा भने मर्मतको कुनै काम हुन नसकेको प्रहरीको भनाइ छ । सुनकोशीको बाढी घटेपछि मात्र त्यहाँ अस्थायी सडक निर्माण सुरु हुने प्रहरीले जनाएको छ । 

वीपी राजमार्ग सञ्चालना ल्याउन सहज स्थानमा ट्र्याक खोल्ने विषयमा समेत छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताउनु भयो । नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा आएपछि बर्दिवाससम्म भने कुनै अवरोध नभएको उहाँले जानकारी दिनु भयो ।


Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।