पहिरोले अवरुद्ध वीपी राजमार्गमा २ बिरामीको एम्बुलेन्समै मृत्यु

आश्विन १३, २०८१ |राजकुमार कार्की
पहिरोले अवरुद्ध वीपी राजमार्गमा २ बिरामीको एम्बुलेन्समै मृत्यु

सिन्धुली । थप उपचारका लागि तीनदिन अघि बिरामी फुपूलाई एम्बुलेन्सबाट धुलीखेल लिएर गएका कमलामाई नगरपालिका-४ का राम भुजेलले न त उपचार गर्न पाए न दाहसंस्कार नै । ९३ वर्षीया फुपू टीकाकुमारी भुजेलको बाढीपहिरोले यातायात अवरुद्ध हुँदा नेपालथोक–धुलीखेल सडकखण्डमा एम्वुलेन्समै मृत्यु भयो । 

'यता न उताको भइयो,' भुजेलले भन्नुभयो,'न त फुपूलाई बचाउन सकियो, न फर्केर सदगद नै गर्न पाइएको छ । अझै सडक छिचोल्ने उपाए छैन ।’

महोत्तरीको बर्दिबास नगरपालिका-८ घर भएका क्षयरोगका बिरामी ४५ वर्षीय मानबहादुर सिँजालीको पनि यातायात अवरोधबीच रोकिएको एम्बुलेन्समा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनकोशी गाउँपालिका-१ टुप्पी डाँडामा बिरामी बोकेका ५ वटा एम्बुलेन्स फसेका छन् । मृतकको शव अझै एम्बुलेन्समै छन् । 

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारणले वीपी राजमार्गको नेपालथोक–धुलीखेलखण्ड क्षतिग्रस्त भएपछि एम्बुलेन्स बाटोमै फसेकाले मृतकको शव र विरामीको उद्धार गर्न समस्या परेको प्रहरी प्रवक्ता डीएसपी अनिलकुमार खड्काले जानकारी दिनुभयो ।

सुनकोसी गाउँपालिकाको कमेरेफाँटको लेदोसहितको पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेकाले आँपघारीबाट वीपी पार्क हुँदै गजुलीदह वा झाँगाझोली रातमाटा निस्कने ट्र्याक सडक सफा गरेर अत्यावश्यक सवारी साधन वारपार गराउने प्रशासनको तयारी छ । 

वैकल्पिक सडकको खोजी गरिरहेकाले आइतबार साँझसम्ममा कुनै उपायबाट एम्बुलेन्सहरु फर्काउन वा पठाउन सकिन्छ कि भनेर लागिरहेको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले जनाउनु भयो । 

टुप्पीडाँडामा रोकिएका एम्बुलेन्स र अन्य सवारी साधनलाई सदरमुकाम सिन्धुलीमाडीतर्फ नै फार्काउन लागिरहेको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनु भयो ।


Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।