परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

असंलग्न राष्ट्रहरुको सङ्गठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले नेपाल विपिन जोशीको रिहाइका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै विश्व समुदायको सहयोगको आग्रह गर्नुभएको हो ।

गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौँ मानिस मारिएका थिए ।

नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री डा. राणाले बैठकमा बताउनुभयो । सम्बोधनका क्रममा मन्त्री डा. राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको पनि औँल्याउनुभयो । विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्व, बिद्रोह तथा हिंसाजन्य कार्यहरु भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

'मलाई लाग्छ दोश्रो विश्वयुद्धपछि अहिले विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ', उहाँले भन्नुभयो, 'त्यसैले इतिहासकै अत्यन्त जटिल मोडमा हामी उभिएका छौँ र सशस्त्र द्वन्द्वबाट नागरिकहरुको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नु परिरहेको छ ।'

मन्त्री डा. राणाले अहिले पनि विश्वका देशहरु निरन्तर रुपमा जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याहरुको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको पनि बताउनुभयो ।

'हामीहरु जेनेभा कन्भेन्सनको ७५ औँ वर्षमा छौँ तर पनि नागरिकहरुको रक्षाका लागि सो कन्भेन्सनले आत्मसात गरेका सिद्धान्तहरुलाई नदेखेझैँ गरी बेवास्ता गरिरहेका छौँ,' उहाँले भन्नुभयो, 'कतै गलत व्याख्याका प्रयास पनि गरिरहेका छौँ । यस्तो अवस्थाको छिट्टै अन्त्य हुनुपर्छ र हामीहरु सबै शान्तिपूर्ण सह-अस्तित्वका साथ अघि बढ्नुपर्छ ।'

परराष्ट्रमन्त्री डा. राणाले गाजामा नागरिकहरुको मृत्यु र यसको सङ्ख्या सुन्दा र देख्दा हृदयविदारक रहेको तथा रुस युक्रेन युद्धमा नागरिकहरुले पाइरहेको दुःख पनि त्यस्तै रहेको भन्दै यस्ता हिंसाजन्य कार्यहरु तत्कालै रोकी समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement