मेलम्ची भ्रष्टाचारमा पूर्वसचिव ठाकुरलाई ८ वर्ष कैद सजाय

अन्य तीन कर्मचारी र निर्माण कम्पनीबाट १ अर्ब साढे २९ करोड असुल्न आदेश
आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मेलम्ची भ्रष्टाचारमा पूर्वसचिव ठाकुरलाई ८ वर्ष कैद सजाय

काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरलाई ८ वर्ष १ महिना कैद सजाय निर्धारण गरेको छ । अदालतले ठाकुरसहित ४ जनाको सजाय आज निर्धारण गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज पूर्वसचिव ठाकुर तथा आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई ८ वर्ष एक महिना कैद निर्धारण तोकेको हो । यस्तै परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा जेष्ठ नागरिक रहेकाले ८ वर्ष कैदमा दुई वर्ष मिनाहा भएर ६ वर्ष कायम गरिएको छ । विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ रुपैयाँ र देवकोटा तथा शर्मासँग २ करोड ९५ लाख रुपैयाँ बिगो असुल उपर गर्न भनिएको छ ।

यस्तै इप्टिसा र बेट्ससँग ६ करोड २१ लाख रुपैयाँ बिगो असुल गर्नसमेत आदेशमा भनिएको छ । इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ भने सीएमसीले २६ करोड ११ लाख रुपैयाँ बिगो बुझाउनुपर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको आरोप लगाउँदै तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement