सहकारीको रकम अपचलनमा कसरी जोडिए धनराज ?

आश्विन १, २०८१ |रमेश धमला
सहकारीको रकम अपचलनमा कसरी जोडिए धनराज ?

काठमाडौं । सहकारीमा राखिएको अर्बौं रकम हिनामिना भएपछि उठिबास भएका बचतकर्ताले सरकारसँग हार गुहार गरिरहेका छन् । यही बीचमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन पनि बुझाइसकेको छ । तर राजनीतिक नेतृत्व सहकारीको रकम अपचलन आरोपमा मुछिने क्रम रोकिएको छैन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको त्यसैको पछिल्लो उदाहरण हुन् । ललितपुरको मितेरी सहकारीको रकम हिनामिनामा वचतकर्ता भन्दा सञ्चालक आफैं न्याय खोज्दै उजुरी लिएर गएका छन् ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीको १४ करोड अपचलन भएको भन्दै सोमबार सञ्चालक समितिका सदस्यहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् । सहकारी छानबिन संसदीय विशेष समितिले पनि सहकारी रकम अपचलनमा मुछिएका नेपाली कांग्रेसका नेता धनराज गुरुङसँग पनि बयान लिएको थियो । उनीमाथि छानबिन गर्नुपर्ने भन्दै संसद् र छानबिन समितिका सदस्यहरुले माग गर्दै आएका छन् ।

धनराज गुरुङ संसद्मा सहकारीको रकम अपचलनविरुद्ध सबैभन्दा धेरै आवाज उठाउनेमध्येका एक हुन् । तर उनै गुरुङ आफैं सहकारी रकम अपचलनमा अनुसन्धानको दायरामा तानिएका छन् । मितेरी सहकारी पूर्वगोर्खा सैनिकहरुले सञ्चालन गर्दै आएका छन् । तर यो सहकारीको रकम अपचलनमा वचतकर्ताले भन्दा सञ्चालक समितिका सदस्यले नै उजुरी दिएकाले अनुसन्धानलाई फरक तरिकाले हेर्नुपर्ने सीआईबीका अधिकृतहरु बताउँछन् ।

सांसद धनराजकी श्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीमा कार्यरत थिइन् । २०७५ सालमा उनलाई सहकारी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । सोही क्रममा उनले रकम अपचलन गरेको सञ्चालक समितिका सदस्यहरुको दाबी छ । धनराज स्वयम्‌ले पनि सहकारीबाट ऋण लिएको आफैंले स्वीकारी सकेका छन् । तर उनकी श्रीमती ज्योतिले सहकारीको करिब ६ करोड रकम अपचलन गरेको दाबी गरिएको छ । उक्त रकम ज्योतिले बैंककमा रहेका अर्का सशंकित व्यक्ति ज्योतिबहादुर भण्डारीलाई पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बढी पैसा आउने नाममा ज्योति गुरुङले ५० जनाभन्दा बढीको खातामा पैसा जम्मा गरेको खुलेको छ । तर पछि ज्योति भण्डारी गायब भएपछि सहकारीको पैसा डुबेको आशंका छ । त्यसो त थाइल्याण्डमा रहेको आशंका गरिएका ज्योति भण्डारीले सहकारीको सञ्चालक समितिलाई डुबेको पैसा पार्सल मार्फत पठाउने भन्दै थप ३ करोड ४४ लाख ७६ हजार लिएका छन् । सञ्चालक समितिमा अन्य व्यक्तिले पनि बचतकर्ताको ३ करोड ४४ लाख डुबाएको आशंका सीआईबीको छ ।

सीआईबीमा उजुरी गर्ने व्यक्ति संचालक समितिकै सदस्य बोधराज थापा हुन् । सञ्चालक समितिले अहिलेसम्म सहकारीमा कति बचतकर्ता छन र कति रकम छ भन्ने खुलाएको छैन । तर धनराजकी श्रीमतीबाट ब्याजसहित १४ करोड असुल गर्नु पर्ने दाबी गरिएको छ । त्यसैमा धनराज गुरुङले नै सहकारीको रकम अपचलन गरेको आरोप लागेको हो । 

यसमा उनको संलग्नतामाथि अनुसन्धान भइरहेको हो । धनराजीकी श्रीमती केही वर्षदेखि नै फरार रहेको दाबी गरिए पनि उनी कहाँ छिन् खुलेको छैन । धनराजले भने श्रीमती ज्योतिसँग २०७६ सालमै सम्बन्ध विच्छेद भइकसकेकाले आफुसँग सरोकार नभएको बताउँदै आएका छन् । तर ०७७ सालमा सहकारीको कारोबारमा ज्योती गुरुङलाई श्रीमतीकै रुपमा उल्लेख गरेका छन् ।

मितेरी सहकारीमा बचतकर्ताको उजुरी नआउनु र सञ्चालक समितिकै सदस्यहरुले एकअर्कालाई रकम हिनामिनाको आरोप लगाउनु शंकास्पद रहेको सीआईबीको दाबी छ । अब समयमा रकम फिर्ता नपाएका बचतकर्ताले पनि जाहेरी दिए धनराजसम्म अनुसन्धान अघि बढाउन सकिने सीआईबीका अधिकृतहरु बताउँछन् । धनराजले श्रीमतीसँग मिलेर कति रकम अपचलन गरेका हुन् र त्यसका उनको कारोबार के थियो भन्ने अनुसन्धानबाट खुलेपछि मात्र कारबाही अघि बढाउने तयारी प्रहरीको छ । 


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement