प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका ३२औं प्रधानन्यायाधीशका लागि राउतको नाम सिफारिस गरेको हो । न्याय परिषद्ले सर्वोच्च अदालतका ८ जना न्यायाधीशको नाम प्रधानन्यायाधीश बन्न योग्य रहेको जानकारी संवैधानिक परिषद्लाई गराएको थियो । परिषद्ले वरिष्ठताका आधारमा प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गरेको हो ।

परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गते अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । त्यसपछि राउतले प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नु हुनेछ । उहाँ २०८२ साल चैत १८ गतेसम्म प्रधानन्यायाधीश बन्नु हुनेछ ।

२०१७ साल चैत १८ गते उदयपुरमा जन्मिएका राउतले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गर्नुभएको छ । उहाँले २०७३ सालसम्म वरिष्ठ अधिवक्ताका हैसियतमा कानुन व्यवसायीको रुपमा काम गर्नुभएको थियो ।

राउत सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षसमेत भइसक्नुभएको छ । उहाँ ८ वर्षअघि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement