अनुशासन र एकअर्काप्रतिको भरोसामा चलेको ४४ जनाको संयुक्त परिवार

भाद्र ३०, २०८१ |कमल पन्थी
अनुशासन र एकअर्काप्रतिको भरोसामा चलेको ४४ जनाको संयुक्त परिवार
युवा पुस्ता आधुनिक जीवनशैलीमा अभ्यस्त हुँदै जाँदा नेपाली समाजमा संयुक्त परिवार भेटाउनै मुस्किल छ । एक पुस्ता नबित्दै अलगै बस्ने चलन सामान्य जस्तै बनिसक्यो । तर बर्दियामा भने एउटा यस्तो परिवार छ- जसको तीन पुस्ता संयुक्त परिवारमा बसेको छ । गुलरिया नगरपालिका-१२ भैसाहीका जगमोहन थारुको ४४ जनाको परिवारको संगोलको बसाइ रोचक छ ।

बर्दियाको गुलरिया नगरपालिका-१२ भैसाहीमा रहेको यो घर ६० वर्षीय जगमोहन थारुको हो । उहाँका तीन पुस्ताका ४४ जना यही घरमा बस्दै आएका छन् । परिवारको छाक टार्न दैनिक करिब १५ किलो चामल नभई हुँदैन । घरको व्यवस्थापन जगमोहन आफैंले गर्नुहुन्छ । कामको बााडफाँट पनि गरिएको छ । 

मिठो मसिनो पकाउन त दैनिक खर्च नै धेरै । परिवारलाई मासु खुवाउनु परे सिंगै खसी चाहिन्छ । वर्षमा एक पटक परिवारमा सबैलाई नयाँ लुगा किन्ने नियम बनाइएको छ । सामान्य किसिमकै भए पनि एक पटकमा सबैलाई लुगा किन्दा १ लाख २० हजार रुपैयाँभन्दा कमले पुग्दैन । सासु-बुहारी, छोरा-छोरी सबै मिलेर काम गर्दछन् ।

थारु परिवारको नाममा ११ विघा जमिन छ । यसमा लगाइएको बालीले यति ठूलो परिवारलाई वर्षभरी खान पुग्दैन । थप ५ विघा जग्गा बटैया गर्दै आएको यो परिवारले घरको सम्पूर्ण काम आफैंले गर्दै आएको छ ।

यो परिवारका कतिपय सदस्य विदेशमा गएका छन् त कतिपय स्वदेशमै रोजगारीमा संलग्न छन् । तर उनीहरुले अंशबण्डा गरेका छैनन् । तर गाउँका अरु परिवारमा यस्तो भेटिँदैन ।

जगमोहनका परिवारमा एक अर्काप्रतिको स्नेह पनि कम लोभलाग्दो छैन । छिमेकी र गाउँले उहाँको परिवारको अनुशासन र एक अर्काप्रतिको भरोसा देखेर अचम्मै मान्ने गरेका छन् ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।