काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जाँदै हुनु हुन्छ । यस पटकको भ्रमणमा बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) सम्झौता अन्तर्गत ऋण लिने सहमति नगर्ने सरकारले पटक पटक स्पष्ट पारिसकेको छ । यद्यपि, सत्ता साझेदार नेपाली कांग्रेससँग बीआरआई बारे साझा धारणा बनिनसकेकाले अन्योल कायमै छ । यस बाहेक, विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीले पहिले चीन भ्रमण गरेर ‘चाइना कार्ड’ खेल्न खोजेको अभिव्यक्ति दिएसँगै भारतले समेत प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो नदिएको सन्दर्भ जोडेर विभिन्न टीकाटिप्पणी भइरहेको छ ।
पूर्व परराष्ट्रमन्त्री एवं नेकपा एमालेकी नेता विमला राई पौड्यालले चीन छिमेकी मुलुक भएको, नेपालको असल साथी भएको र चीनबाट पहिले निम्तो आएकाले प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेको बताउनु भएको छ । प्रधानमन्त्रीको चीन भ्रमण सम्बन्धमा कान्तिपुर टेलिभिजनको कार्यक्रम सरोकारमा भएको बहसमा नेता पौड्यालले चीनसँग नेपालको विकास सहायता सम्बन्धी थुप्रै विषय भएकाले यो विल्कुल कूटनीतिक भ्रमण भएको पनि स्पष्ट पार्नु भयो । “आवश्यकता अनुसार चीनले नयाँ प्रधानमन्त्री हुनुहुन्छ आउनुस् छलफल गरौं भनेर बोलायो, उहाँ जाँदै हुनुहुन्छ”, उहाँले भन्नु भयो, “कार्ड खेल्ने भन्ने कुरै हुँदैन, एकदम असान्दर्भिक विषयमा हाम्रो देशमा धेरै छलफल भइरहेको छ ।”
नेता पौड्यालले भ्रमण चीनसँग सहयोग लिन मात्र केन्द्रित हुन नहुने पनि बताउनु भयो । “माग्ने प्रवृत्ति मात्र होइन, हामी चीनका लागि कसरी महत्त्वपूर्ण हुनसक्छौं र हाम्रो विकासमा चीनले कसरी सहयोग गर्न सक्छ भन्ने कुरा हो,” उहाँले भन्नु भयो । यस्तै विकास साझेदारी अन्तर्गत सडक, हवाई वा डिजिटल माध्यमबाट हुने ‘कनेक्टिभिटी’, ट्रान्समिसन लाइन लगायत विकास पूर्वाधार र पर्यटन विकास चीन भ्रमणको महत्त्वपूर्ण अजेन्डा हुने धारणा उहाँले व्यक्त गर्नु भयो ।
शेरबहादुर देउवा सरकारका परराष्ट्र सल्लाहकार तथा राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले हरेक देशले आफ्ना राष्ट्रपति, प्रधानमन्त्रीको तालिका मध्यनजर गरेर भ्रमण तालिका मिलाउने भएकाले भारतको साटो पहिला चीन भ्रमणमा जानु अन्यथा नभएको बताउनु भयो । “चीन गएर भारत विपक्षका विषयलाई चीनको तुष्टीकरणका लागि उठाउने फितलो कूटनीति जो पञ्चायतकालमा भएको थियो, हामी गर्दैनौं । र भारत गएर चीनको विषयमा कुरा लगाएर स्याँखुल्ले पल्टने किसिमको कूटनीति जबसम्म हामी गर्दैनौं तबसम्म यस्ता भ्रमणले, त्यहाँ उठाइएका अजेन्डाले एकअर्काका सम्बन्ध प्रभावित हुन्छ भन्ने मलाई विश्वास छैन”, उहाँले भन्नु भयो ।
पुष्पकमल दाहाल सरकारका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले भने नेपालका एकाध बाहेक सबैजसो प्रधानमन्त्रीले भारतबाट दुई पक्षीय वैदेशिक भ्रमण सुरू गरेको पृष्ठभूमि भएकाले भारतले असहज महसूस गरेको हुन सक्ने आकलन गरिएको बताउनु भयो । “विगतमा हुने दुई पक्षीय वैदेशिक भ्रमणको परम्परा हेर्ने हो भने सबैजसो प्रधानमन्त्रीले भारतबाट वैदेशिक दुई पक्षीय भ्रमण सुरू गर्नु भएको छ । एकाध प्रधानमन्त्रीले चीनको भ्रमण गर्नुभएको छ । यो पृष्ठभूमिले भारतमा केही असहज महसूस भएको र प्रधानमन्त्री चीन गइराख्दा कतै हाम्रो भारतसँगको सम्बन्ध प्रभाव पार्छ कि भनेर हेरिएको साँचो हो”, उहाँले भन्नु भयो ।
सापकोटाले चीन भ्रमणबारे सत्तारुढ कांग्रेस र एमालेबीचको मतान्तरका कारण यो आन्तरिक विषय समेत भएको र विश्व राजनीति तथा क्षेत्रीय राजनीतिमा विकास भइरहेको प्रतिद्वन्द्विताको आलोकमा हेर्दा भ्रमणलाई सबैले चासोपूर्वक ढंगले हेरेको बताउनु भयो । प्रधानमन्त्रीले भारत भ्रमणको प्रयत्न गरेको पृष्ठभूमिमा भारतले निम्तो नगरेको र एकाएक चीन भ्रमणमा जाने कार्यसूची सार्वजनिक भएपछि संशय पैदा भएको उहाँले बताउनु भयो । “चीनसँग हाम्रो जसरी आर्थिक साझेदारी विकास भइरहेको छ त्यो महत्त्वका साथ त्यहाँ जानु पर्छ । त्यहाँ गएर अर्कोलाई प्रभावित पार्न होइन, हामी ठोस योजनाका साथ चीन भ्रमणमा जानु पर्छ”, उहाँले भन्नु भयो ।
विस्तृत भिडिओमा