काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको हो । लामिछानेको पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएको प्रहरी स्रोतले जनाएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको आरोपमा गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जोशीको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको छ ।
कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।