बझाङमा तीन दिनदेखी विद्युत् सेवा अवरुद्ध

भाद्र २९, २०८१ |वसन्तप्रताप सिंह
बझाङमा तीन दिनदेखी विद्युत् सेवा अवरुद्ध

बझाङ । विद्युत् सेवा अवरुद्ध हुँदा बझाङ जिल्ला तीन दिनदेखी अन्धकारमा छ । राष्ट्रिय प्रशारण लाइनमा समस्या आएपछि जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । लामो समयदेखी विद्युत् अवरुद्ध हुँदा जिल्लाबासीको दैनिक जनजीवनका साथै व्यापार व्यवसाय र सरकारी कामकाज समेत प्रभावित भएको छ ।

विद्युत् नहुँदा मोबाइल समेत चार्ज गर्न नपाएर स्थानीयको सञ्चार सम्पर्क टुटेको छ भने बन्दव्यापारदेखी लिएर कार्यालय र घरायसी कामकाज समेत समस्या आउन थालेका छन् । लामो समय सम्म बिजुली नआउँदा होटल, मासु पसल र दुग्ध व्यवसाय गर्नेहरुलाई सबैभन्दा मर्का परेको छ । विद्युत् नभएका कारण बिक्री नभएको मासुलाई भण्डारण गर्ने व्यवस्था नहुँदा अधिकांश मासु पसलले दैनिक ठूलो घाटा बेहोर्नु परिरहेको छ ।

यस्तै दुधजन्यपदार्थ पनि भण्डारण गर्न समस्या भएका कारण खेर फाल्नु परेको एक जना डेरी सञ्चालक सावित्री सिंहले बताउनुभयो । बझाङ सदरमुकाम चैनपुरमामात्र ३० भन्दा बढीमासु पसल र ८ वटा डेरी रहेका छन् । यस्तै विद्युत् अवरुद्ध भएका कारण यहाँका ग्रिल उद्योग, मिल, फर्निचर उद्योग, बेकरी लगायतका उद्योगको काम ठप्प भएको छ ।

ग्रिल उद्योग सञ्चालक रमेस जोशी भन्नुहुन्छ, ‘बिजुली छैन, उद्योग बन्द गरेर बस्नु परेको छ ।' बुधबार जयपृथ्वी नगरपालिकाको तमैल नजिक आएको पहिरोले पोलमा क्षति पुर्‍याएपछि विद्युत् सेवा अवरुद्ध भएको थियो । 

त्यो समस्या समाधान गर्नु अगावै बैतडीको भालुमारेमा दुई वटा पोल ढलेको र शनिबार तमैलमा पनि फेरि समस्या आएका कारण लामो समय विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणको बझाङ वितरण केन्द्रले जानकारी दिएको छ । ‘दुवै ठाउँमा मर्मतको काम भैरहेको छ । शनिबार साँझसम्म सेवा सुचारु हुन सक्छ,' वितरण केन्द्रका कर्मचारी राम कुवँरले भन्नुभयो ।

शुक्रबार दिनभर अवरुद्ध भएको बझाङको टेलिफोन सेवा भने शनिबार बिहानबाट सुचारु भएको छ । लगातारको झरीका कारण रिपिटर टावरमा भएको सौर्य उर्जा प्रणाली चार्ज हुन नपाउँदा बझाङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । 


Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।