धादिङमा विद्युत् प्राधिकरणको लापरबाहीले सेवाग्राहीलाई सास्ती, मनपरी विद्युत् कटौती रोक्न माग

भाद्र २७, २०८१ |पोषनाथ अधिकारी
धादिङमा विद्युत् प्राधिकरणको लापरबाहीले सेवाग्राहीलाई सास्ती, मनपरी विद्युत् कटौती रोक्न माग

धादिङ । नेपाल विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण अनियमित विद्युत् कटौती, भोल्टेज अप-डाउन र लगातार ट्रिपिङ हुँदा धादिङका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । प्राधिकरणको फितलो व्यवस्थापनका कारण विद्युत् आपूर्ति निरन्तर नहुँदा सेवा प्रवाह प्रभावित मात्र भएको छैन, उपभोक्ताको विद्युतीय उपकरण समेत जलेर नष्ट भएका छन् । 

धादिङको नीलकण्ठ नगरपालिका १२ पशुपति टोलका अधिकांश विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रमा भेटिए । उनीहरू लगातार विद्युत् आउने जाने गरेका कारण टोलभरीको विद्युतीय सामाग्री बिग्रिए पछि डेलीकेसन आएका रहेछन् । धादिङमा पछिल्लो समय अनियमित विद्युत् कटौती, भोल्टेज अप-डाउन र लगातार ट्रिप हुँदा नागरिकले सेवा उपभोग गर्न त पाएका छैनन् नै विद्युतीय उपकरण बिग्रिएर सास्ती खेपेका छन् ।

पटक पटक विद्युत् आपूर्तिमा समस्या हुँदा नागरिकको घरमा मात्र हैन, बिजुलीकै भर परेर सेवा दिने अस्पताल, विद्यालय तथा उद्योगधन्दामा समेत समस्या भएको छ । नियमित आपूर्ति नहुँदा सेवा प्रवाहमा त समस्या भएको छ नै, ठूला ठूला उपकरणमा समेत क्षति पुगेको छ । 

विद्युत् प्राधिकरणको सेवा प्रवाहमा लगातार समस्या देखिएपछि पटक पटक नागरिकले वितरण केन्द्रमा सेवा सुधारका लागि आग्रह गरेको भए पनि कार्यालयले विभिन्न प्राविधिक कारण देखाएर पन्छाउँदै आएको छ । हावा, हुरी र प्राविधिक कारणले कहिलेकाहीँ लामो समय सेवा अवरुद्ध हुनुलाई समेत स्वाभाविक ठान्ने उपभोक्ता अहिले छिन छिनमा बत्ती जाने र आउने गर्दा दिक्क छन् ।

विद्युत् प्राधिकरण आफैँमा नाफामुखी सेवा प्रदायक संस्था हो । नागरिकले समयमा महसुल नतिर्दा भारी जरिवाना लगाउने तर आफूले प्रदान गर्ने सेवा प्रवाह प्रभावकारी नहुँदा एकातिर नागरिक सेवाबाट वञ्चित भएका छन् भने अर्कोतर्फ जिम्मेवारीमा बसेकाहरूले कहिलेसम्म नागरिकलाई ओठे जवाफ लगाएर बस्ने ?


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement