काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डनल्ड ट्रम्प राष्ट्रपतिय बहसको क्रममा एक अर्का माथि लगाइएका आरोपहरुको खण्डन गरेका छन् । दुई नेताबीचको यो पहिलो राष्ट्रपतिय बहस हो। यो बहसमा दुवै नेताको प्रस्तुतिलाई निकै महत्वका साथ हेरिएको थियो । टेलिभिजन स्क्रिनमा पहिलो पटक एकसाथ देखिएका ह्यारिस र ट्रम्पले बहसको सुरुवात हुन भन्दा पहिला हात मिलाएका थिए ।
फिलाडेल्फियाको नेसनल कन्सटिट्यूशन सेन्टरमा दुई नेताबीच करिब ९० मिनेट बहस चलेको थियो । उक्त बहस एबीसी च्यानलमा प्रसारण भएको थियो।
बहस सुरु गर्दै ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाउनुभएको थियो । ट्रम्पले ह्यारिस र डेमोक्रेटिकसँग कुनै नीति नरहेको कारण अमेरिकामा विगत चार वर्षमा केहि परिवर्तन नआएको जीकिर गर्नुभयो । ह्यारिसले भने आफू अवसरको अर्थतन्त्र बनाउने योजनामा रहेको बताउनुभएको थियो ।
गर्भपतन सम्बन्धी प्रश्नमा ह्यारिसले वकालत गर्दै उक्त विषयमा थप प्रगतिशील नीति तयार गर्नुपर्ने बताउनभएको थियो भने ट्रम्पले गर्भपतनमा राष्ट्रिय प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने स्पष्ट पार्नुभयो ।
ट्रम्पले अमेरिकीलाई सबैभन्दा खराब बेरोजगारी दरको अवस्थामा छोडिदिएको ह्यारिसले आरोप लगाउनुभयो ।
बहसका क्रममा ह्यारिसले ‘प्रोजेक्ट २०२५’ को विषयलाई लिएर ट्रम्पमाथि आरोप लगाउनुभयो । र, ट्रम्प निर्वाचित भए खतरनाक योजनालाई लागु गर्ने ह्यारिसले बताउनुभएको थियो । जवाफमा ट्रम्पले आफूले यो प्रोजेक्ट अहिलेसम्म नपढेको र पढ्न पनि नचाहेको बताउनुभयो ।
ट्रम्पले अवैध आप्रवासीको मुद्दा उठाउनुभएका थियो । दिनहुँ ठूलो संख्यामा गैरकानुनी आप्रवासीहरु अमेरिकाको सिमाना पार गरी देश भित्रिने गरेकोमा ह्यारिसलाई निशाना बनाउँदै उनीहरु जेल र मानसिक अस्पतालबाट भागेर सिधै अमेरिका आउने गरेको आरोप लगाउनुभयो । साथै ट्रम्पले डेमोक्रेटिकहरुसँग अवैध आप्रवासी रोक्ने कुनै पनि योजना नरहेको बताउनुभयो । डेमोक्रेटिकहरुको नितिका कारण आफूले गोली खानु परेको ट्रम्पको भनाई थियो ।
इजरायल-गाजाको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले यदी ह्यारिस राष्ट्रपतिमा निर्वाचित भए आजको मितिबाट दुई वर्षमा इजरायल सिधिने बताउनुभयो । उता ह्यारिसले युद्ध तत्काल अन्त्य गर्नुपर्ने र प्यालेस्टाइनलाई राज्यको मान्यता दिनुपर्नेमा जोड दिनुभयो । युक्रेन युद्ध अन्त्यको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले आफू राष्ट्रपति बन्नु अधि नै युद्ध रोक्ने चाहेको प्रतिक्रिया दिनुभयो । उता ह्यारिसले युद्धग्रस्त अवस्थामा ट्रम्प राष्ट्रपति हुन्थे भने पुटिन युक्रेन पुगिसक्थे भन्दै आरोप लगाउनुभयो । त्यस्तै ह्यारिसले ट्रम्पविरुद्ध चलिरहेको मुद्दा र सन् २०२० को चुनावमा आफ्नो हार स्वीकार नगरेको भन्दै ट्रम्पमाथि हमला गर्नुभयो । ह्यारिसले सीमा समस्याका लागि ट्रम्प जिम्मेवार रहेको बताउनु भयो ।