बागलुङ । अविरल झरीसँगै मध्यरातमा आएको बाढीले बगाउँदा बागलुङमा तीन जनाको मृत्यु भएको छ ।
गएराति बागलुङ नगरपालिका-४ बान्द्रे खोला तर्ने क्रममा बाढीले बगाउँदा मोटरसाइकलमा सवार स्थानीय २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मी तथा स्कुटरमा सवार २० वर्षीय कमल सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडलले जानकारी दिनु भएको छ । कुँडुलेदेखि मालिका जाने क्रममा बान्द्रे खोला तर्दै गर्दा मोटरसाइकल र स्कूटरमा सवार तीनै जनालाई खोलाले बगाएको थियो ।
यसैगरी अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ खण्डको निसी खोला-बुर्तिबाङ खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । यो सडक बन्द भएसँगे बागलुङको निसी खोलाका साथै जाजरकोट, रोल्पा र पूर्वी रुकुम जाने र आउने सवारीसाधन समस्यामा परेका छन् । उता हिजो साँझदेखि लगातार परेको बर्षापछि झरेको पहिरोका कारण म्याग्दी सदरमुकाम बेनी जोड्ने सवै सडकमा यातायात अवरुद्ध भएको छ ।
भारी वर्षाका कारण म्याग्दी नदीमा जलसतह उच्च सर्तकता तहमा पुगेको बाढी मापन केन्द्रले जनाएको छ । त्यस्तै चितवन ईच्छाकामना गाउँपालिका-४ घोप्टेभीरमा लेदोसहितको पहिरो खस्दा पृथ्विराजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षाले आज पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको चितवन प्रहरीले जनाएको छ ।