काठमाडौं । पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
प्रहरी महानिरीक्षक विरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको प्रयोगले प्रहरी संगठनकै मानमर्दन भएको मञ्चले जनाएको छ । पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सञ्चारमन्त्री गुरुङलाई आफ्नो बचन फिर्ता लिइ नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ ।
'यसको विपरित माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सक्रिय संगठनको नजरबाट मन्त्रीज्यू गिर्नु भएको छ । यस मञ्च मन्त्रीज्यूलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्नु हुन र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नुपूर्व थप सचेत रहन आग्रह गर्दछ,' विज्ञप्तिमा लेखिएको छ ।
सञ्चारमन्त्रीको अभिव्यक्तिले बहाल तथा पूर्वसुरक्षाकर्मीको मानमर्दन भएको भन्दै मञ्चले कारबाहीका लागि पनि प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।