तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका मृतकको शव पोष्टमार्टमका लागि भरतपुर पठाइयो

पोष्टमार्टमपछि भारतीय दूतावासमार्फत शव आफन्तको जिम्मा लगाउने तयारी
भाद्र ८, २०८१ |भीमलाल श्रेष्ठ
तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका मृतकको शव पोष्टमार्टमका लागि भरतपुर पठाइयो

गोरखा । तनहुँको आँबुखैरेनी नजिकै ऐनापहरामा भएको बस दुर्घटनाका मृतक २७ जना भारतीय नागरिकको शवको पोष्टमार्टमका लागि चितवनको भरतपुर पठाइएको छ । आँबुखैरेनी अस्पतालबाट राति नै भरतपुर अस्पताल शव पठाइएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर ज्यान गुमाएका १६ महिला र ११ पुरूष गरी २७ जनाको पहिचान खुलेको छ । नेपालस्थित भारतीय राजदूतावासको आग्रहमा शवको पोष्टमार्टम चितवनमा गर्न लागिएको हो । पोष्टमार्टमपछि दूतावासमार्फत शवहरू आफन्तको जिम्मा लगाउने तयारी छ । दुर्घटनामा परी घाइते भएका १६ जनाको काठमाडौंमा उपचार जारी छ ।

पोखराबाट काठमाडौं जाने क्रममा शुक्रबार बिहान साढे ११ बजेतिर बस मर्स्याङदी नदीमा खसेको थियो । भारतको महारास्ट्रबाट नेपाल घुम्न आएकाहरू दुर्घटनामा परेका हुन् ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement