खुडा र खुकुरी प्रहार गरेको आरोपमा राप्तीसोनारी-२ का वडाध्यक्षसहित ४ जना पक्राउ

भाद्र २, २०८१ |कान्तिपुर टीभी संवाददाता
खुडा र खुकुरी प्रहार गरेको आरोपमा राप्तीसोनारी-२ का वडाध्यक्षसहित ४ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले राप्तीसोनारी-२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

एमालेबाट निर्वाचित वलीलाई शनिबार राति बाँके बिनौना चोकमा नेपाली कांग्रेसका कार्यकर्ता शुलव मल्ल र सन्दीप विष्टलाई खुडा र खुकुरी प्रहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सन्दीप वली, विशाल बस्नेत र रत्नबहादुर वली छन् । उनीहरू सबैलाई छानबिनका लागि पक्राउ गरिएको कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकले बताउनु भयो । दुईजना घाइतेको अवस्था निकै चिन्ताजनक भएकाले उपचारका लागि शानिबार राति नै लखनउ लगिएको छ ।

यसै क्रममा नेपाल तरूणदलले आफ्ना समर्थकको ज्यान लिने उद्देश्यले सुनियोजित ढंगले आक्रमण गरिएको आरोप लगाएको छ । तरूणदल र कांग्रेसका कार्यकर्ताहरूले आइतबार दिउँसो बाँके प्रहरीले सुरक्षा दिन नसकेको भन्दै ईलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल बाँकेले संघका अध्यक्षसमेत रहेका ज्ञानेन्द्र राज वलीलाई प्रमाणहीन आरोप लगाएर गिरफ्तारी गरेको भन्दै रिहाईको माग गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा घटनालाई अतिरञ्जित नगर्न भनिएको छ । 

जिल्ला प्रहरी बाँकेमा प्रहरी नायव उपरीक्षक नारायण डाँगीले घटनाको जाहेरी नआएको भए पनि ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिनु परेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.