मिथिलामा मनाइने झुला महोत्सव परम्परामै सीमित

भाद्र २, २०८१ |अमरकान्त ठाकुर
मिथिलामा मनाइने झुला महोत्सव परम्परामै सीमित

जनकपुर । ७२ कुण्ड ५२ कुटीले चिनिएको जनकपुरधाममा झुलनोत्सवको बेला पहिलेपहिले मठ मन्दिरहरु संगीतमय बनेका हुन्थे । दुई दशक अघिसम्म पनि नाँचगान र आकर्षक रुपमा सजिएका मठ मन्दिरमा श्रद्धालुको मध्यरातसम्म भिड लाग्थ्यो । तर गुठी संस्थान र मानमहन्थहरुको उदासीनताका कारण मिथिला नगरीको मनमोहक झुलनोत्सव अचेल केवल परम्परामा सीमित बनेको छ ।

जनकपुरधाम र आसपासका प्रत्येक मठमन्दिरमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीता, राधाकृष्णलगायतका देवी देउताको मूर्ति राखी झुलाउने परम्परा छ । तर झुलनोत्सवकै लागि करिब ६ दशकअघि राम मन्दिर समितिले निर्माण गरेको झुलाघर १५ दिने झुलनोत्सवमा पनि सुनसान देखिएको छ । जानकी मन्दिरलाई बेहुली झौ सिंगार गरिएपनि जनकपुरधामका अन्य मठमन्दिर र झुला घरमा हुने झुलनोत्सव परम्परामै सिमित हुँदै गएको हो ।

जनकपुर झुला घरले भोगेको बेवास्ता उदाहरण मात्रै हो । यहााका प्रसिद्ध मन्दिर रत्न सागर, विहार कुण्ड, अग्नि कुण्डलगायतका झुलाघरहरु पनि सुनसान छन् । मठ मन्दिरमा झुलनोत्सव औपचारिकतामै सिमित भएको छ । झुलनोत्सवमा मठमन्दिर श्रद्धालु भक्तजनहरुले अबेर रातिसम्म भरिभराउ हुन्थे तर गुठी संस्थानको उदासीनता र अधिकांश मन्दिरहरु महन्थविहीन भएपछि झुलनोत्सवको चहलपहलमा कमी आएको छ ।

मिथिलाको सांस्कृतिक पर्वका रुपमा चिनिने झुलनोत्सव साउन शुक्ल तृतीयादेखि पूणिर्मासम्म मनाइन्छ । झुलनोत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको मान्यता छ । सन्तहरुले खुला चौर वा रुखको छहारीमा बास बसी झोलामा ल्याएको शालिग्रामलाई आसनमा राखी झुलाउने गरेको जनविश्वासमा यो पर्व मनाइन्छ ।

झुलनोत्सवले जनकपुरधामको ऐतिहासिकतालाई पनि जोगाएको छ । यसको गरिमा जोगाउन सरोकारवाला सबै गम्भीर हुनुपर्ने देखिन्छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement