सोलुखुम्बु । खुम्बुपासाङल्हमु गाउँपालिकाको थामे खोलाको शिरमा रहेको हिमताल फुटेर नै थामेमा बाढी आएको पुष्टि भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका-५ मा रहेको सिंगो बस्ती नै शुक्रबार दिउँसो बाढीले बगाएपछि शनिबार बिहान हेलिकप्टर मार्फत स्थलगत अवलोकन गर्दा हिमताल फुटेर नै बाढी गएको पुष्टि भएको हो ।
अचानक थामे खोलामा आएको बाढीले थामेका २० घर बगाएर करौडौँ क्षति भएपछि रक्षामन्त्री मानवीर राई सहितको टोली नेपाली सेनाको हेलिकप्टर लिएर खुम्बु पुगेको थियो । खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरी शेर्पा नेतृत्वको टोली भने दोलखा र सोलुको सिमाना रहेको थामे खोलको मुहानमै पुगेको छ । उक्त टोलीले टासिलाप्चामाथिको सानो ताल फुटेको फेला पारेको हो ।
अध्यक्ष शेर्पाले भन्नुभयो, 'टासिलाप्चा क्षेत्रमा रहेका दर्जन बढी हिमतालमध्ये सबैभन्दा मुनिपटि रहेको सानो ताल फुटेर थामे गाउँ बगाएको देखियो । हिमताल के-कति कारणले फुट्यो भन्ने कुरा प्रमाणित हुन सकेको छैन ।'
उक्त ताल फुटेसँगै थामे खोलोमा बाढी आएपछि थामे गाउँमा करोडौँको क्षति गरेको छ भने बाढी दुधकोशी नदीमा मिसिँदा खुम्बु जाने गोरेटो बाटो बगाएको छ । खुम्बु क्षेत्र जाने ओर्लाङघाटको पक्की पुलको एकतर्फको भाग भासिएको छ । अब माथिल्लो क्षेत्रमा बाढीबाट थप जोखिम भने नरहेको पालिका अध्यक्ष शेर्पाले जनाउनु भयो ।