सोलुखुम्बु । सोलुखुम्बुमा हिमताल फुटेर थामे खोलामा आएको बाढीका कारण खुम्बुपासाङल्हमु गाउँपालिका-५ थामेमा १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति भएको छ । बाढीमा परि एक जना स्थानीय बेपत्ता भएका छन् । घरहरु कोही पुररिएर र केही बगाएर क्षतिग्रस्त भएका हुन् ।
दोलखा र सोलुखुम्बुको सिमाना भइ बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाब बढ्दा थामे १२ घर (होटल सहित) बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिका प्रसाद घिमिरेले बताउनुभयो ।
डिएसपी घिमिरेका अनुसार स्थानीय एक जना बेपत्ता भएका छन् भने अन्य मानवीय क्षति भएको छैन् । घटना स्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको प्रजिअ देवि खत्री पाण्डेले जानकारी दिनुभयो । दुधकोशी नदीको तल्लो तटीय क्षेत्र भने खतरा मुक्त रहेको उहाँले बताउनुभयो ।
थामे खोलको शिरमा रहेका हिमताल फुटेर वा कुनै पहाड खसेर बाढी आएको हुन सक्ने खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
बाढीका कारण थामेमा सञ्चार र विद्युत् सेवा दुवै प्रभावित बनेको छ ।