बीआरआई अन्तर्गतका परियोजनामा ऋण नलिने पक्षमा पुगे सत्तारुढ दल

मंसिर ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीआरआई अन्तर्गतका परियोजनामा ऋण नलिने पक्षमा पुगे सत्तारुढ दल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले चीनको बीआरआईअन्तर्गतका परियोजनामा ऋण नलिने पक्षमा पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा बीआरआईअन्तर्गतका परियोजना ऋण कि अनुदान भन्नेमा मत बाझिइरहेका बेला प्रधानमन्त्री ओलीले बीआरआईमा ऋण नलिने सार्वजनिकरुपमा बताउनुभएको छ । काठमाडौँमा हिजो एमालेले गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनसँग ऋणका आयोजना नलिने दाबी गर्नुभएको हो ।

सत्ता गठबन्धन दल कांग्रेसले यसअघि नै चीनसँगका विकासका आयोजनाहरु अनुदानमा मात्र लिने निर्णय गरिसकेको छ । हिजो संसद् भवन बानेश्वरमा कांग्रेसले अर्थविद् र परराष्ट्रविद्हरुसँगको छलफलमा पनि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईअन्तर्गतका कुनै पनि नयाँ परियोजनामा ऋण लिन नहुने निष्कर्ष निकालेको छ ।

कांग्रेसले चीनले यसअघि अनुदानमा गरेका प्रतिबद्धता पूरा नभएसम्म थप नयाँ सम्झौता गर्न नहुने निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । हिजै जनकपुरको एक कार्यक्रममा कांग्रेसका अर्का नेता विमलेन्द्र निधिले पनि चीन भ्रमणका बेला बीआरआईअन्तर्गत नयाँ सम्झौता नहुने बताउनुभयो ।

चीन भ्रमण नजिकिइरहेका बेला सत्तारुढ कांग्रेस–एमालेबीच नै बीआरआई परियोजनालाई लिएर मत बाझिएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा पर्नुभएको थियो । तर अब दुवै दल बीआरआई परियोजनाअन्तर्गतका आयोजना ऋणमा नलिने निष्कर्षमा पुगेपछि उहाँलाई केही सहज भएको छ । तर परियोजना कार्यान्वयन सम्झौता गर्ने वा नगर्ने भन्ने चाहिँ अझै स्पष्ट हुन सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.