के गरे रोकिन्छ मानव र हात्तीबीचको द्वन्द्व ?

श्रावण २८, २०८१ |उपेन्द्र ठाकुर
के गरे रोकिन्छ मानव र हात्तीबीचको द्वन्द्व ?

वीरगन्ज । पृथ्वीमा अस्तित्वमा रहेका स्थलीय जीवमध्ये सबैभन्दा ठूलो जनावर हात्तीको आफ्नै महत्त्व छ । तर बासस्थान विनाश र आहाराको क्षयीकरण हुँदै जाँदा यो प्राणी संकटापन्न अवस्थामा छ । संरक्षण प्रयासले हात्तीको संख्या बढाउने दिशामा सकारात्मक परिणाम देखाएको त छ तर हात्तीको स्वभाव बुझ्न नसक्दा मानव-हात्ती द्वन्द्व बढेको छ । यसले बर्सेनि नेपालमा औसत ६ वटा हात्ती र ३० जनासम्म मानिसको ज्यान जाने गरेको छ ।

तीन मिटरसम्म अग्लो र ६ टनसम्म तौल हुने भीमकाय शरीर हुने हात्तीसँगको मानिसको साइनो निकै पुरानो छ । सभ्यताको सुरुवातदेखि नै मानिसले हात्तीसँग संगत गर्दै आएको हो । हात्ती एक ठाउँमा नबसेर आफ्नो पुर्खा हिँडेको बाटो पच्छ्याएर हिँडिरहन्छ । पुर्खा बसेको बासस्थान, हिँडेको बाटो र आहारा कसैले खोस्दा वा मास्दा जसरी मानिस रिसाउँछ, हात्तीले पनि त्यस्तै गर्छ । वनजंगल नजिका बस्तीमा मानव-हात्ती द्वन्द्वको कारण पनि यही हो ।

हात्ती विचरण गर्ने जंगल मासेर बसेको बस्ती र संरचना देखेर हात्ती पनि अन्यौलमा परेका छन् । त्यसमाथि पुर्खा हिँडेको बाटो हिँड्नखोज्दा हात्तीसँग मानिसले गर्ने व्यवहारका कारण द्वन्द्व बढेको जानकार बताउँछन् ।

नेपालमा रैथाने हात्ती करीब तीन सय हाराहारीमा पुगेका छन् । तीमध्ये १ सय २० देखि एक सय ५० वटाले नेपाल भारत विचरण गरिरहन्छन् । तराई भूपरिधिभित्र विचरण गरिरहने हात्ती भारतबाट झापाहुँदै चितवन पर्सा राष्ट्रिय निकुञ्जसम्म आउजाउ गर्छन् । झुन्डमा बस्ने, रमाउने र यात्रा गर्ने हात्तीको आनीबानी र उसको स्वाभाव बुझ्न बुझाउन नसक्दा द्वन्द्व बढेको छ ।

सन् २००० देखि २०२४ सम्ममा नेपालमा हात्तीले तीन सय २३ जनाको ज्यान लिइसकेको छ भने ५७ वटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा वर्षमा दुईदेखि तीन जनाको ज्यान जाने गरेको नेपालमा अहिले त्यो संख्या वर्षमा २० सम्म पुगेको छ भने मानवीय कारणले बर्सेनि ६ वटा हात्ती मारिन्छन् ।

शान्त स्वभावको प्राणी भएकाले हात्तीले हत्तपत्त मानिसलाई आक्रमण गर्दैन तर, पुस्ता हिँडेको बाटो हिँड्दा, आहाराको खोजी, प्रजननका बेला वा छावासितका हात्तीलाई लखेट्दा, जिस्क्याउँदा यसले प्रतिरक्षात्मक आक्रमण गर्दा मानिसको ज्यान जाने गरेको छ । हात्तीको आक्रमणबाट ज्यान गएकामध्ये अधिकांशलाई हात्तीले जंगलबाट ५ सयदेखि एक हजार मिटरसम्मको दूरीमा रहेको बस्ती वा जंगलमा आक्रमण गरेको पाइएको छ ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।