सल्यानका सामुदायिक वन समूहको आम्दानीकाे स्रोत बन्यो खाेटाे

श्रावण २६, २०८१ |सरिता चलाउने
सल्यानका सामुदायिक वन समूहको आम्दानीकाे स्रोत बन्यो खाेटाे

सल्यान । सल्यानका सामुदायिक वन समूहले सल्लाको खोटो बिक्रीलाई आम्दानी स्रोत बनाएका छन् । सामुदायिक वन समूहले सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षीक २ करोड भन्दाबढी आम्दानी गर्छन् । खोटोको आम्दानीमध्ये ५० प्रतिशत समुदायकै विपन्न वर्गको आयआर्जनमा लगाइन्छ । गत आर्थिक वर्षमा सल्यानबाट २५ सय मेट्रिक टन खोटो बिक्री भएको छ ।

६ सय १३ वटा सामुदायिक वन समूह रहेको सल्यानमा अधिकांश वन समुहले सल्लाको खोटो बिक्री गर्छन् । ६४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको सल्यानमा अधिकांश खोटे सल्लाको वन छ । सामुदायिक वनले खोटो बेचेर आम्दानी गरेको रकमबाट वन व्यवस्थापन र सामुदायिक सेवामै खर्चिने गरेका छन् । उपभोक्तालाई ग्यास चुलो वितरणदेखि आयआर्जनका काममा लगानी गर्दै आइरहेका छन् । जसले गर्दा खोटो उपभोक्ताको जीविकोपाजर्नको माध्यम बनेको छ ।

आर्थिक वर्ष ८०/८१ मा सल्यानका सामुदायिक वनले २५ सय मेटि्रक टन खोटो बेचेका छन् । जसबाट सामुदायिक वनको खातामा दुई करोड २६ लाख रुपैयाँ जम्मा भएको छ । यो पैसा बिग्रीएकाे वनको हैसियत सुधार, वृक्षारोपण, रिचार्ज पोखरी निर्माण र समुदायमा आधारित रोजगारमुलक कार्यक्रममा लगानी हुन्छ ।

सल्यान सबैभन्दा बढी खोटो संकलन तथा बिक्री हुने जिल्ला हो । यहाँका सामुदायिक तथा राष्ट्रिय वन गरि तीन सयभन्दा बढि वनमा मनकामना, देउती, गंगा, गणपति, बगंलामुखीलगायतका रोजिन कम्पनीले खोटो संकलन गर्दै आइरहेका छन्  । खोटो किन्ने कम्पनीले समूहबाट खरिद गर्दा प्रतिकिलो १२ रुपैयाँ र निकासी कर प्रतिकिलो ५० पैसा तिर्छन् । यसरी खोटोबाट आम्दानी भएको पैसा कार्यविधिअनुसार खर्च गर्न पाउने व्यवस्था छ ।

खोटो निकासीबाट गत वर्ष १२ लाख ७१ हजार राजस्व संकलन भएको छ भने प्रदेश संचित कोषमा ३८ लाख ६० हजार तथा मुल्य अभिवृद्धि करमा ३९ लाख ६६ हजार राजस्व जम्मा भएको छ । तर पछिल्लो समय ठूला रुख बढदै जानु ? र आगलागीका कारणले साना रुख मासिँदै जाँदा खोटो उत्पादन कम हुने हो कि भन्ने चिन्ता बढेको छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।