डेढ दशकअघि खान लाउनै दुःख, अहिले करोडौंको मालिक

पुस १०, २०८१ |अमर क्षितिज भण्डारी
डेढ दशकअघि खान लाउनै दुःख, अहिले करोडौंको मालिक

दाङ । घोराही उपमहानगरपालिका-९ कमुनडाँडाका सीताराम विकको परिवार छोराले विदेशबाट पठाएको रेमिट्यान्सले करोडौं सम्पत्तिको मालिक बनेको छ । डेढ दशकअघिसम्म खान लाउनकै दुःख रहेका सीतारामले छोरा ताराबहादुरले कुवेतबाट रेमिट्यान्स पठाउन थालेपछि एक बिघा जग्गा र दुई वटा पक्की घर बनाउन सफल हुनुभएको छ ।

दाङको घोराही उपमहानगरपालिका-९ मकुनडाँडा खैरा कोठरी सडक छेउमा सीताराम विकको किराना पसल छ । सीतारामलाई डेढ दशकअघिसम्म घरखर्च चलाउनै धौधौ थियो । उहाँले छोराछोरीलाई गाउँकै सरकारी विद्यालयमा दुखजिलो गरेर पढाउनुभयो । छोरीको बिहे गरिदिनुभयो भने १२ पढ्दै गरेका छोरा ताराबहादुरलाई महँगो ब्याजमा एक लाख रुपैयाँ ऋण काढेर कुबेत पठाउनुभयो । २०६४ सालमा कुवेत गएका ताराबहादुरले रेमिट्यान्स पठाउन थालेपछि अहिले सीतारामका दिन फिरेका छन् ।

सुरूसरूमा वर्ष दुई वर्षमा स्वदेश फर्किने ताराबहादुर अहिले दुई चार महिनाकै फरकमा आउजाउ गर्नुहुन्छ । ताराबहादुरले कुवेतमा बगाएको पसिनाले बुवा सीतारामले जग्गा यहाँ जोड्न थाल्नुभयो । सीतारामको परिवारले अहिले एक बिघा जग्गा जोडिसकेको छ । घोराही-१० नारायणपुरमा ८५ लाख खर्च गरेर पक्की घर बनेको छ भने गाउँको पुरानो घर भत्काएर ५० लाखमा दुई तले पक्की घर बनिरहेको छ । २० दिनअघि घर फर्किएका ताराबहादुर फेरि १० दिनपछि कुवेत उड्ने तयारीमा हुनुहुन्छ ।

डेढ दशकअघिसम्म आरनको काम गर्ने बुबाआमालाई घरछेउमै अर्को घर बनाएर ताराबहादुरले किराना पसल खोलिदिनुभएको छ । पसलको कमाइले घर खर्च चलाउन मज्जालो पुग्छ भने ताराबहादुरको कमाइ बचत भइरहेको छ । पसलको हेरचाह गर्ने सासुससुराको स्याहारसुसार र भातभान्सा बुहारी बालिकाले गर्नुहुन्छ ।

ताराबहादुरले कुवेतमा बगाएको पसिनाले उहाँको परिवारमा पैसा मात्रै भित्रिएको छैन सुख र समृद्धि पनि भित्रिएको छ । 


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।