पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङ छिचोलिएको छ । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत ‘बाइपास २’ छिचोलिएसँगै तीन वटै सुरुङ छिचोलिएको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनु भएको छ ।
‘बाइपास २’ १६१ मिटर लामो छ । यसअघि ‘बाइपास ३’ गत भदौ २६ र ‘बाइपास १’ गत असोज ४ गते छिचोलिएको थियो । तेस्रो र पहिलो बाइपास क्रमशः १३० मिटर र १५१ मिटर लामो छन् ।
सिद्धबाबा सुरुङको मुख्य सुरुङ भने एक हजार १२६ मिटर लामो छ । कुनै बाधा व्यवधान नआए पुसभित्रै मुख्य सुरुङ पनि छिचोल्ने तयारी भएको आयोजनाले जनाएको छ । उक्त सुरुङ ९० मिटर मात्र छिचोल्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
सुरुङमा लाइनिङको काम भने अझै सुरू भएको छैन । सुरुङ खन्न चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशनले सात अर्ब ३४ करोड २१ लाखमा ठेक्का लिएको यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक शेड, रक फल ब्यारियर, स्लोप प्रोटेक्शनको काम हुनेछ ।
सिद्धार्थ राजमार्ग भएर तराईदेखि पहाडका पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा सुरुङमार्गले आवागमन सहज र सुरक्षित हुने विश्वास छ ।