‘डार्क फाइल’ को अन्तिम फैसला भदौ ६ गते

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘डार्क फाइल’ को अन्तिम फैसला भदौ ६ गते

काठमाडौँ । अदालतको अवहेलना मुद्दामा सिधा कुरा अनलाइन र युट्युब च्यानलका प्रकाशक, कार्यकारी सम्पादकविरुद्धको मुद्दामा सर्वोच्च अदालतले भदौ ६ गते फैसला सुनाउने भएको छ ।

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले आज मुद्दाको सुनुवाइ गरी फैसला मिति तोकेको हो । सर्वोच्चले १५ दिनभित्र बहस नोट झिकाउन आदेश दिएको छ । ९ जना न्यायाधीशहरूको बृहत् पूर्णइजलासमा भएको सुनुवाइमा १५ दिनभित्र बहस नोट झिकाउन आदेश दिएको हो । 

सर्वोच्च अदालतले सिधा कुरा अनलाइनका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालगायत विरुद्ध मुद्दामा गत जेठ ३० गते न्यायाधीश कुमार चुँडाल र विनोद शर्माको इजलासले मुद्दालाई बृहत् पूर्णइजलासमा पठाउने आदेश गरेको थियो । सोही अनुसार आज त्यसको पहिलो सुनुवाइ भएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ , न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाँल , नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल, बालकृष्ण ढकालसहितको इजलास बसेको थियो । 

यसअघिको इजलासले डार्क फाइलका नाममा सर्वोच्च अदालतका न्यायाधीश, सञ्चार उद्यमी र कानुन व्यवसायी समेतलाई मुछेर डार्क फाइल नामको नक्कली अडियो टेप बनाएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न आदेश दिएको थियो । सोही अनुसार जिल्ला अदालत काठमाडौं मुद्दा दायर भइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.