पहिरोले दोलखा-सिंगटी सडक क्षतिग्रस्त, सवारी आवागमन ठप्प

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरोले दोलखा-सिंगटी सडक क्षतिग्रस्त, सवारी आवागमन ठप्प

दोलखा । दोलखाको उत्तरी क्षेत्रको मुख्य लाइफलाइनका रुपमा रहेको दोलखा-सिंगटी सडक पहिरोले क्षतिग्रस्त बनाएपछि आइतबारदेखि यातायात पूर्णरूपमा ठप्प भएको छ ।

सडक सञ्चालनमा नआएपछि उत्तरी क्षेत्रका ५० हजार स्थानीय प्रभावित भएका छन् । उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रमा ढुवानी ठप्प बनेको छ । वैकल्पिक रुपमा रहेको सिसा गोलाइ-दम्फा कालोपत्रे सडकसमेत पहिरोले बगाएपछि उत्तरी क्षेत्र संकटमा परेको हो ।

साउन १२ गते रातिको वर्षाले कालिञ्चोक गाउँपालिका ४, बन्चरेनजिकै झमार्सी खोलाले सडक भासिएर बगाएपछि, उत्तरका बिगु, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाका २२ वटा वडाका बासिन्दाको सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ ।

सडक अवरुद्ध बनेकाले उत्तरी क्षेत्रमा खाद्यान्नदेखि अति महत्त्वपूर्ण ढुवानी पूर्ण रुपमा प्रभावित बनेको सिंगटी उद्योग वाणिज्य संघका अध्यक्ष महेश श्रेष्ठले बताउनुभयो ।

दोलखा-सिंगटी सडक उत्तरी क्षेत्रको एकमात्र विकल्पका रुपमा रहेको सडक हो । सडक खुलाउन प्रयास भइरहेको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख अमितकुमार श्रेष्ठले बताउनुभयो । फास्ट ट्रयाकमा बोलपत्र आह्‍वान गरिएको र सडक खुलाउन दुई साता लाग्ने उहाँले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.