काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा अब पहिचान झल्किने पोसाक र पहिरन लगाउन पाइने भएको छ । राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धमा सबै जिल्ला प्रशासनहरू तथा राष्ट्रिय परिचयपत्र इकाईहरूलाई पत्राचार गर्दै पञ्जीकरण विभागले त्यस्ता पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।
‘राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन देहाय बमोजिम गर्नु/गराउनुहुन अनुरोध छ,’ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पत्रमा भनेको छ, ‘विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्नेछ । फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन ।’
यस्तै अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन दिएमा विवरण दर्ताको व्यवस्था मिलाउनसमेत विभागले पत्राचार गरेको छ ।