लमजुङ । चामे सडकखण्डअन्तर्गत मनाङको तिमाङ छहरामा फलामे पुल राखेपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
मनाङको चामे गाउँपालिका १, तिमाङ छहरामा गत असार १७ र १८ गते आएको बाढीले जग बसाउने ठाउँसमेत नराखी पुल बगाएपछि यो खण्डमा सवारीसाधन चल्न सकेका थिएनन् ।
डुम्रे-बेंसीसहर-चामे सडक आयोजनाले पाँच दिनमा फलामे पुल राख्न सफल भएको आयोजनाका सब-इन्जिनियर सुमन अधिकारीले बताउनुभयो । उहाँका अनुसार फलामे पुल राखेसँगै सोमबार दिउँसोबाट सवारीसाधन पनि निर्वाध आउजाउ गरिरहेका छन् ।
असार १७ गते तिमाङ खोलामा आएको बाढीले काठेपुल बगाएकामा सोही ठाउँमा भने पुनः काठेपुल निर्माण गरी कैंचु डाँडासम्म सडक सञ्चालनमा ल्याइएको थियो ।
यसअघि सडक अवरुद्ध हुँदा सडक खण्डअन्तर्गत बेंसीसहरबाट नासों गाउँपालिका ९, दानक्युसम्म सवारीसाधनहरु सञ्चालन भइरहेका थिए । तिमाङ खोलामा काठेपुल निर्माणपश्चात मनाङ चामेबाट तल्लो क्षेत्र दानक्युको कैंचु डाँडासम्म सवारीसाधनहरु चल्ने गरेका थिए ।
तिमाङ छहरामा काठेपुल विस्थापित गर्दै ठुलो छहरा र सानो छहरामा स्ल्याब कल्भर्ट पुल निर्माण गरिएको थियो । दुई वर्षअघि निर्माण गरिएको पुल बाढीले बगाएपछि अहिले फलामे पुल राखेसँगै सडक पूर्ण रुपमा सञ्चालनमा आएको हो ।