पाटे बाघको सङ्ख्या १२ वर्षमा झन्डै तेब्बर

वन विनाशले बाघ र मान्छेबीचको द्वन्द्वका घटना बढे
पर्यटकीय गतिविधिबाट आर्थिक क्रियाकलाप बढाउन सुझाव
श्रावण १४, २०८१ |मनोज पौडेल
पाटे बाघको सङ्ख्या १२ वर्षमा झन्डै तेब्बर

कपिलवस्तु । नेपालमा पाटे बाघको सङ्ख्या पछिल्लो १२ वर्षमा बढेर झन्डै तेब्बर भएको छ । 

वन्यजन्तु संरक्षणका लागि विश्वमै यो खुसीको क्षण भए पनि बाघले मान्छेमाथि गर्ने घातक आक्रमणका घटना बढ्दा चिन्ता पनि उत्तिकै थपिएको छ । सन् २०१० मा नेपालमा १ सय २१ बाघ रहेकामा सन् २०२२ सम्म आइपुग्दा ३ सय ५५ पुगेको थियो । बाघ संरक्षणको काम प्रभावकारी भए पनि मानव र बाघबीचको द्वन्द्व भने बढेको छ । आहाराको कमी, वासस्थान विनाश र वन अतिक्रमणलगायतका कारण मानिस र बाघबीच द्वन्द्व चुलिएको हो ।

नेपालमा सबैभन्दा धेरै १ सय २८ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा छन् । त्यस्तै बर्दियामा १ सय २५ वटा पुगेका छन् । त्यसैगरी बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ छन् । चोरी सिकारी नियन्त्रण, वासस्थान संरक्षण र व्यवस्थापन, राष्ट्रिय निकुञ्जको विस्तार र भारतसँगको वन्यजन्तु करिडोर निर्माणले बाघको सङ्ख्या अपेक्षाअनुसार बढेको हो ।

पछिल्लो ६ वर्षमा देशभर बाघको आक्रमणबाट ६८ जनाको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । आर्थिक वर्ष ०८०/८१ मा १० र २०७९/८० मा बाघको आक्रमणबाट १२ जनाको मृत्यु भएको तथ्यांक छ ।

 त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २१, २०७७/७८ मा १३, २०७६/७७ मा आठ र २०७५/७६ मा बाघको आक्रमणबाट चार जनाको मृत्यु भएको थियो ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको बाघ पाइने १३ देशले एक दशकभित्रै बाघको सङ्ख्या दोब्बर बनाउने संकल्प गरेका थिए । ती मुलुकमध्ये बाघको सङ्ख्या बढाउन सफल हुनेमा नेपाल पहिलो बनेको थियो । यसले अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको प्रशंसा भइरहे पनि संरक्षित क्षेत्र आसपासको जनजीवन भने त्रासमा छ । बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वासस्थान सुधार चुनौती बनेका छन् ।

बाघ आकर्षक र सुन्दर जनावर हो । प्रकृतिप्रेमी ९० प्रतिशत पर्यटक बाघ हेर्न लालायित हुन्छन् । खाद्य शृंङखलामा बाघ मुख्य सिकारी वन्यजन्तु भएकाले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा उल्लेखनीय योगदान हुन्छ ।

सानो मुलुकमा बाघको सङ्ख्या उच्च हुनु नयाँ चुनौती हो । अब बाघ र मानिस सागै बाँच्न र बस्न सक्छन् भन्ने देखाउन सकियो भने त्यो विश्वकै लागि अझ उदाहरणीय हुने छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।