गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने दुई चिनियाँ र एक भारतीय नागरिक पक्राउ

मंसिर ११, २०८१ |मनोज पौडेल
गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने दुई चिनियाँ र एक भारतीय नागरिक पक्राउ

कपिलवस्तु । गैरकानुनी रूपमा लुकीछिपी भारतबाट नेपाल प्रवेश गरेका दुई जना चिनियाँ र एक भारतीय नागरिक पक्राउ परेका छन् । शुद्धोधन गाउँपालिका-५, घिराउजोतस्थित सीमाबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले मंगलबार पक्राउ गरेको हो ।

भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला कक्रहवाका २३ वर्षे अरबाज शेखले मोटरसाइकलमा राखी ल्याएका दुई चिनियाँ पक्राउ परेका हुन् । फरक वेशभूषा र अनुहार देखेपछि प्रहरीले जाँच गरेको थियो । पक्राउ पर्नेमा ३२ वर्षे लिक्वानक्वे र ३५ वर्षीय छिथाओ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताउनु भयो । दुईमध्ये लिक्वानक्वेसँग मात्र चिनियाँ पासपोर्ट भेटिएको अधिकारीले बताउनु भयो । उनको साथबाट दुई थान ल्यापटप, ६ थान विभिन्न कम्पनीका मोबाइल र १४ हजार ७५० भारतीय रुपैयाँ बरामद गरिएको छ ।

गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सामान सहित अध्यागमन कार्यालय बेलहिया रूपन्देही पठाइएको छ । शुद्धोधन गाउँपालिकामा मंसिर १६ गते वडा नं. १ को वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएकाले आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रहरीको गस्ती भइरहेको छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement