दार्चुला । व्यास गाउँपालिका- १ का केही व्यापारीहरू चीनको ताक्लाकोट बजारका लागि गाउँबाट हिँडेका छन् । व्यासका स्थानीय २७ जना व्यापारीहरू बुधबार र बिहीबार चीनको ताक्लाकोट बजारतिर गएको प्रशासनले जनाएको छ ।
कोरोनाको निहुँमा चीनसितको तिंकर नाका बन्द गरेपछि लामो समयदेखि यहाँका स्थानीय व्यापारीहरूले ताक्लाकोटमा व्यापार गर्न पाएका थिएनन् । चिनियाँ नाका खुलेको औपचारिक जानकारी नआएपनि पहिलो चरणमा बिहीबार छाङ्गरुका १५ जना र टिंकरका १२ जना गरी २७ जना व्यापारी नाका प्रवेशका लागि हिँडेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।
छाङरुका १५ जना व्यापारी तांलाकोटका लागि बुधबार घरबाट हिँडेका र राति डोङकाङ् भन्ने स्थानमा बास बसेर बिहीबार तांलाकोटतिर हिँडेको स्थानीयबाट खबर प्राप्त भएको छ ।
प्रजिअ जोशीका अनुसार ताक्लाकोटमा रहेका स्थानीय व्यापारीमार्फत नाका खुला रहेको भन्ने व्यास क्षेत्रका व्यापारीलाई खबर भएपछि उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन् । तर, आधिकारिक रूपमा चिनिया पक्षले नाका खुलेको जानकारी पठाएको छैन । गत जेठ १७ गते ताक्लाकोटस्थित चिनिया अधिकारीहरूसँग दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीहरूले वी च्याटमार्फत भीडिओ संवाद गर्दै नाका संचालनबारे छलफल गरेका थिए ।
सोही अनुसार असार ११ गते औपचारिक रूपमा नाका खुल्ने तय भएको थियो । तर, उक्त मितिमा प्राविधिक तयारी नपुगेको भन्दै चिनियाँ पक्ष नाका खोल्न तयार भएन भने पुनः असार २६ गते खुल्ने जानकारी व्यापारीहरूलाई पठाएको थियो ।
असार २६ गतेपनि औपचारिक रूपमा नाका खुलेन । अहिले यसअघि ताक्लाकोटमा व्यापार सञ्चालन गर्दै आएकाहरूका लागि नाकामा आवागमन सहज भएको व्यापारीहरूलाई खबर आएको र सोही अनुसार व्यापारीहरू त्यसतर्फ जान थालेको दार्चुला प्रशासनले जनाएको छ । उनीहरू भोलि मात्रै चीन प्रवेश बिन्दुमा पुग्ने बताइएको छ ।
चीन प्रवेशका लागि दार्चुलाका १ सय ८७ जनाले अनुमति पत्र बनाएका छन् । कोरोना कालदेखि दार्चुलाको टिंकर नाका बन्द रहेको छ । ताक्लाकोटमा ५ दर्जन बढी व्यास परिवारका पसल रहेका छन् ।