मानवअधिकार सम्बद्ध चार संस्थाको माग - तीनकुने घटनाको स्वतन्त्र न्यायिक छानबिन गर

चैत्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
मानवअधिकार सम्बद्ध चार संस्थाको माग - तीनकुने घटनाको स्वतन्त्र न्यायिक छानबिन गर

काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा सुरक्षा निकायबाट अत्यधिक बल प्रयोग भएको खुलासा भएपछि मानव अधिकार क्षेत्रका चार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले ‘स्वतन्त्र न्यायिक छानबिन’ को माग गरेका छन् ।

नेपाल प्रहरीले घटनामा ५८ राउन्ड गोली चलाएको र एकजनाको ज्यान गएको विवरण सार्वजनिक गरे पनि गोप्य प्रतिवेदनमार्फत १ सय १० लाइभ राउन्ड गोली प्रयोग भएको, अर्धस्वचालित हतियार (एसएलआर) चलाइएको, रबर बुलेट र सयौं राउन्ड अश्रुग्यास प्रहार गरिएको खुलासा भएको छ । यसले प्रहरीको विवरणमाथि गम्भीर प्रश्न उठाएको भन्दै मानव अधिकारकर्मीहरूले स्वतन्त्र र निष्पक्ष न्यायिक छानबिनको माग गरेका हुन् ।

एमनेस्टी इन्टरनेसनल नेपाल, एड्भोकेसी फोरम, जुरी-नेपाल र जवाफदेहिता निगरानी समितिले संयुक्त रूपमा जारी गरेको अपिलमा घटनामा संलग्न सुरक्षाकर्मी तथा जिम्मेवार निकायको पहिचान गरी जवाफदेहिता सुनिश्चित गर्न ‘स्वतन्त्र न्यायिक संयन्त्र’ गठनको माग गरिएको छ ।

अपिलमा भनिएको छ, 'बल प्रयोगको विगतको प्रवृत्ति र ढाँचालाई समेत समेटेर स्वतन्त्र न्यायिक छानबिन आवश्यक छ, जसले पीडितलाई न्याय दिलाउने, दोषीलाई कारबाही गर्ने र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्ने आधार तयार गर्न सकोस् ।'

साथै अपिलकर्ताहरूले राजनीतिक पूर्वाग्रह वा दबाबबिना अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढाउन र विरोध प्रदर्शनलाई शान्तिपूर्ण राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न पनि आह्वान गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.