कुलमानको पुनःबहालीको माग गर्दै माइतीघरमा प्रदर्शन

चैत्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कुलमानको पुनःबहालीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणमा पुनःबहाली गर्नुपर्ने माग गर्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । कुलमान घिसिङ पुनःबहाली संयुक्त आन्दोलन परिचालन समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । 

प्रदर्शनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघ लगायतका संघसंस्था सहभागी छन् । उनीहरूले कुलमान घिसिङलाई पुनःबहाली गर्नुपर्ने, विद्युत् प्राधिकरणमाथिको राजनीति बन्द गर्नुपर्ने, ऊर्जामन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग सहितको प्लेकार्ड समेत बोकेका छन् । यही चैत ११ गते सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउँदै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । आफूलाई पुनःबहाली गर्न माग गर्दै घिसिङले रिट दायर गरे पनि सर्वोच्च अदालतले आदेश दिन अस्वीकार गरेको थियो ।

यसैबीच, आफूहरूलाई श्रम शोषण गरिएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू पनि प्रदर्शनमा उत्रिएका छन् । सरकारले तोकेको न्यूनतम ४८ हजार तलब पाउनुपर्ने माग गर्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । सरकारले ४८ हजार तोके पनि आफूहरूले १९ हजार ५ सय रुपैयाँ मात्र पाइरहेको उनीहरूको गुनासो छ । 

चिकित्सकहरूले स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.