भारतले बनाएको महलीसागर बाँधका कारण नेपालका ३ सय बिघा खेतीयोग्य जमिन डुब्यो

श्रावण १, २०८१ |मनोज पौडेल
भारतले बनाएको महलीसागर बाँधका कारण नेपालका ३ सय बिघा खेतीयोग्य जमिन डुब्यो

कपिलवस्तु । भारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ ।

असार तेस्रो सातादेखि बाढीले खेत डुबाउँदै लगेकोले रोपाइँ गर्नै नसक्ने अवस्था आएको गुनासो किसानले गरेका छन् । यशोधरा गाउँपालिका ५, भगवानपुर, लोहरौली र भैंसहियाका किसानको ३ सय बिघा बढी खेत डुबेको हो । ‘बाँध फुटेर १५ दिनदेखि पानीले खेत डुबाएको छ । अब हातमुख कसरी जोर्ने भन्ने चिन्ताले सताएको छ,’ यशोधरा गाउँपालिका कपिलवस्तुका किसान भगवानदास यादवले भन्नुभयो ।

महलीसागर बाँधका १५ वटा ढोकामध्ये केहीमा एक मिटर चौडा र डेढ मिटर लम्बाइका मोटामोटा सालका पटरी राखेर पानी छेकिएको छ । त्यसले निकास थुनिँदा नेपालतर्फ डुबान भएको नेपाली किसानको दाबी छ । ‘मेरो २० बिघा खेत डुबेको छ । अब के गर्ने, कसो गर्ने निकै चिन्ताले सताएको छ, भोक प्यास हराएको छ,’ यशोधरा गाउँपालिका भगवानपुरका घनश्याम यादवले भन्नुभयो ।

रोपाइँ गर्न तयार खेत डुबेपछि १५० परिवार किसानको चिन्ता बढेको छ । कतिपय किसानको बिउ रोप्न नपाउँदा पहेंलिएको छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।