त्रिशूलीमा खसेका दुवै बस र यात्रीको अवस्था अज्ञात, उद्धारकार्य भोलि बिहानसम्मलाई स्थगित

असार २८, २०८१ |राजु चौधरी|भीमलाल श्रेष्ठ|पोषनाथ अधिकारी
त्रिशूलीमा खसेका दुवै बस र यात्रीको अवस्था अज्ञात, उद्धारकार्य भोलि बिहानसम्मलाई स्थगित

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएका दुई वटा यात्रुबस र त्यसमा रहेका बेपत्ता यात्रुको अवस्था अझै अज्ञात छ । आज बिहानैदेखि सुरु गरिएको खोजीकार्य भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । रात परेको र खराब मौसमका कारण भोलि बिहानबाट मात्र पुनः खोजी कार्य सुरु गरिने बताइएको छ । बेपत्ता बस र यात्रु खोज्ने क्रममा बसको पर्दा र बच्चाको कपडा भने भेटिएको छ ।

पहिरोले बगाएका यात्रुको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितका सुरक्षाकर्मी र गोताखोर बिहानैदेखि परिचालन गरिएको थियो । शुक्रवार बिहान करिव साढे ३ बजेतिर त्रिशूली नदीमा खसेर हराइरहेका दुई यात्रुवाहक बस र यात्रु खोज्ने क्रममा बसको पर्दा र बच्चाको कपडा भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

उद्धारकर्मीहरूले चुम्बक प्रयोग गरेर खोज्दा पनि हराइरहेको बस भेटिएको छैन । त्रिशुली नदीमा पानीको सतह दुई मिटरले घटे पनि पानी धमिलो भएकाले गोताखोरहरू धेरै भित्र पस्न नसकेको उद्धारमा खटेका सुरक्षाकर्मीहरुले बताएका छन् । सिमलतालमा बगेका दुई बसमध्ये काठमाडौंबाट रौतहटकको गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको बताइएको छ । त्यस्तै, वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल बसमा रहेका २४ जनामध्ये १७ जना पर्साका वासिन्दा र ७ जना भारतीय नागरिक हुन् ।

बेपत्ता यात्रुको खोजीका लागि दिनभर तीनै सुरक्षा निकायका ७५ जनाको टोली परिचालन गरिएको थियो । गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुको भने जीवन जोगिएको छ । बस नदीमा खसेपछि आफू बसबाहिर हुत्तिएको र पौडिएर किनार निस्किएको रौतहटका नन्दन दासले जनाउनु भयो । यस्तै जुगेश्वर राय यादवले बस नदीमा खसेपछि हामफालेर बाँचेको जनाउनु भयो । घाइते तीनै जनाको अहिले चितवनमा उपचार भइरहेको छ ।

त्यसैगरी, सोही सडक खण्डको १७ किलोमा बिहान साढे ३ बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको मृत्यु भएको छ ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।

Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement