बाढीपहिरोबाट आज थप ४ जनाको मृत्यु

दोलखामा ५ दिनदेखि १४ पर्यटक अलपत्र
असार २५, २०८१ |जिल्ला ब्युरो
बाढीपहिरोबाट आज थप ४ जनाको मृत्यु

काठमाडौं । बाढी-पहिरो र डुबानमा परेर आज थप चार जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका १ स्थित नारायणी नदी किनारमा दुईजना पुरुष र एक महिलाको शव फेला परेको हो ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका १५ खाँबुमा पहिरोले घर पुरिँदा ९ वर्षीया रुपकला मगरको मृत्यु भएको छ । उनको आमा र भाइ घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले चार घर पुरिएका छन् । अरु सात घर जोखिममा छन् ।

यस्तै अविरल वर्षाले सुनसरी र मोरङका धेरै ठाउँ जलमग्न भएका छन् । सुनसरीको चतरा, धरान इटहरी, मोरङको केराबारी लेटाङ सुन्दरहरैंचामा क्षेत्रका नदी खोलामा पानीको सतह खतरा तहभन्दा माथि पुगेको छ । बाढीले सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग डुबेका छन् ।

उता, त्रियुगा नदीको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका २, फत्तेपुरका ५४ घर डुबानमा परेका छन् ।

यसैगरी दोलखाको रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको झोलुंगे पुल र दुईवटा फड्के बगाएपछि च्छोरोल्पा हिमताल पुगेका १४ जना आन्तरिक पर्यटक पाँच दिनदेखि अलपत्र परेका छन् ।

दोलखा, सोलुखुम्बूलगायत जिल्लाबाट घुम्न गएका पर्यटक गौरीशंकर गाउँपालिका ९ को पर्यटकीय गाउँ ना र बेदिङको बीचमा ठूलो पहिरो गएपछि ना मा अलपत्र परेका हुन् । उद्धारका लागि गएको सुरक्षाकर्मीको टोली बाढीले फड्के र पुलसहित पदमार्गमा क्षति गरेपछि सुर्मुचेबाट फर्किएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताउनुभयो ।

प्रतिकूल मौसमका कारण हवाई उद्धार पनि गर्न सकिएको छैन । ना र बेदिङ गाउँसँग सञ्चार सम्पर्क पनि हुन नसकेकाले त्यहाँका स्थानीयको अवस्था यकिन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । गत शुक्रबार रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको डोगाङका साना-ठुला आठवटा होटेल बगाउनुका साथै एक जनालाई बेपत्ता बनाएको थियो ।