धादिङ । संघीय राजधानी काठमाडौं प्रवेशको मुख्य नाकाका रुपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीदेखि नौबीसे खण्डमा रातिको समयमा सवारीसाधनको आवागमन रोकिने भएको छ ।
नागढुंगा-मुग्लिङ सडक योजना पूर्वी खण्ड आयोजना कार्यालयले सूचना जारी गर्दै पृथ्वी राजमार्गअन्तर्गत नौबीसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलहरुमा निर्माणको काम गर्नुपर्ने भएकाले असार २६ गते (भोलि) देखि साउन ९ गतेसम्म हरेक दिन बेलुका १० देखि बिहान ३ बजेसम्म सवारीसाधन आवागमनमा रोक लगाइने भएको हो ।
रातिको समयमा काम गर्दा सडक प्रयोगकर्ताहरुलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा कठिनाइ हुने भन्दै सवारीसाधन आवागमन रोक्नुपरेको सूचनामा उल्लेख गरिएको छ ।
एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन भने नरोकिने जनाएको आयोजनाले सवारीसाधन आवागमन बन्द हुने समयमा काठमाडौं प्रवेश गर्ने सवारीसाधनले वैकल्पिक मार्गका रुपमा गल्छी हुँदै विदुर-छहरे-टोखा सडक प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।