कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीलाई प्रहरीले ल्यायो काठमाडौं

भण्डारीलाई सीआइबीको जिम्मा लगाइयो
असार ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीलाई प्रहरीले ल्यायो काठमाडौं

काठमाडौं । ललितपुरको मितेरी सहकारीको रकम अपचलन भएको घटनामा फरार रहेका आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरि बुधवार राति काठमाडौं ल्याइएको छ ।

रेड कर्नर नोटिस समेत जारी भएका भण्डारी कम्बोडियामा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले भण्डारीसहित नेपाली कांग्रेसका सांसद एवं उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्ध पनि रेड कर्नर नोटिस जारी गरेको थियो।

भण्डारी सुरुमा थाइल्यान्डबाट कम्बोडिया हुँदै हाल श्रीलंकाको कोलम्बो पुगेको प्रहरीको सुरुवाती अनुमान थियो । मितेरी बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त लाहुरेहरूको पहलमा खोलिएको सहकारी हो । बर्दिया घर भएका ज्योति समेतले सहकारीको रकम अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

इन्टरपोलमार्फत प्रहरीले भण्डारीलाई पक्राउ गरेर नेपाल ल्याएको हो । त्यसका लागि एसपीको कमान्डमा नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो ।

भण्डारीलाई काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाइएको छ । मितेरी सहकारीको ठगी प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ । भण्डारीले सहकारीबाट क्रिप्टोमा लगानी गर्ने भन्दै रकम लगेको सिआइबीको अनुसन्धानमा देखिएको थियो। भण्डारी यस ठगी प्रकरणमा प्रमुख आरोपी हुन् । 

यही सहकारी ठगीमा सिआइबीले कांग्रेसका उपसभापति धनराज गुरूङसँग पनि पटकपटक बयान लिएको छ। उहाँले भने ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउँदै आउनु भएको छ । मितेरी सहकारीको १४ करोड ८१ लाख रुपैयाँ रकम अपचलन गरेको आरोप उनीहरूमाथि छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.