ठूला नदीहरूमा जल सतहले खतराको तह पार गर्दा तटीय क्षेत्रमा त्रास

असार २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
ठूला नदीहरूमा जल सतहले खतराको तह पार गर्दा तटीय क्षेत्रमा त्रास

काठमाडौं । आइतबार दिउँसो बबई नदीमा बाढीले खतराको तह पार गरेको छ । जलस्तर बढ्दै गएपछि पशुहाट र प्रयागपुरमा नदीले कटान सुरु गरेको छ ।

उक्त क्षेत्रमा आपतकालीन काम गर्न बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालयलाई स्थानीय प्रशासनले निर्देशन दिएको छ । गुलरियाको ईन्द्रपुर हुँदै टडुवाको हुलाकी सडक आसपासमा बाढी आइपुगेको छ । गुलरिया-५ प्रयागपुरमा केही घर डुबानमा परेका छन् । माछा मार्न र काठ दाउरा संकलन नगर्न प्रशासनले सचेत गराउँदा गराउँदै पनि बबई र कर्णालीमा बगेका काठ समात्न स्थानीयले जोखिम मोलिरहेका छन् ।

बबई नदीको बाढीले गुलरिया-११ स्थित तटबन्ध बगाएको छ। च्याउ टिप्न सीमावर्ती भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेकी  बर्दियाको मधुवन नगरपालिका-५ कि शान्ति खड्कालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । त्यस्तै बाँकेको डुडुवा नालामा बगेर एक जना बेपत्ता भएका छन् । 

उता कोशी नदीमा जलस्तर निरन्तर बढ्न थालेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको टोलीले आइतबार अनुगमन गरेको छ । बहाव अत्यधिक भएपछि आइतबार बिहानदेखि नै ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् ।

यस्तै अविरल वर्षासँगै राते खोलामा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा ट्रस ब्रिज बगाएको छ । वर्षाकै कारण संखुवासभाका सबै खोला नदीमा बाढी आएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

उता कालीगण्डकी नदी तटमा रहेको रानीमहल क्षेत्र अविरल वर्षासँगै डुबानमा परेको छ । कालीगण्डकी नदी र बराङदी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा जल सतह बढेको हो । नारायणी नदीको गण्डक ब्यारेजमा १६ वर्षयताकै उच्च बहाव मापन गरिएको छ। पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल भारत सीमामा रहेको ब्यारेजका ३६ वटै ढोका खोलिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement