अस्पतालको शैय्याबाट बाढीपहिरो पीडितको बिलौना- न बास रह्यो न परिवार, कहाँ जाने थाहा छैन

आश्विन १९, २०८१ |पुजन धिताल|विकास आचार्य
अस्पतालको शैय्याबाट बाढीपहिरो पीडितको बिलौना- न बास रह्यो न परिवार, कहाँ जाने थाहा छैन

काभ्रे । काभ्रेको तेमाल गाउँपालिकामा गत साताको बाढी र पहिरोले निकै नै जनधनको क्षति भयो । धेरैको घरबार उठ्यो । कतिले परिवार र आफन्त गुमाए । तेमालकै माइला तामाङले आफ्ना भन्ने सबै गुमाउनुभयो । नौं जनाको परिवारमा उहाँ मात्रै जोगिनुभयो । माइला तामाङ जस्तै तेमालका धेरै नागरिक भावशून्य अवस्थामा छन् । 

काभ्रेको तेमाल गाउँपालिका-२ मा तामाङ समुदायको सुन्दर बस्ती थियो । यो बस्तीमा रहेका तामाङ समुदाय दुखजिलो गरि गुजारा गर्दै आएका थिए । त्यही बस्तीमा माइला तामाङको परिवार पनि थियो । वडा नम्वर २ ढूंगेपाखाका माइला तामाङको घरमा शनिबारको पहिरोले न बास रह्यो न परिवारका सदस्य नै रहे । परिवारका सबै सदस्य गुमाएका माइलाले अस्पतालको शैय्याबाट हामीसँग बिलौना पोख्नु भयो ।

माइलाको परिवारमा मात्र उहाँ मात्र जिवित हुनुहुन्छ। उहाँका दाजुभाईका दुई घर थिए । घर नजिकैको खहरेखोला निरन्तरको बाढीले बढ्दै गयो । असोज १२ गते पानी पर्छ भन्ने सुने लगत्तै माइला आफ्नी श्रीमतीलाई लिएर ११ गते आमाबुवा र भाइको परिवार बस्ने मूलघरमा जानुभएको थियो ।

पानी निरन्तर पर्यो । अचानक घरमाथिबाट पहिरो झर्यो । माइलाले परिवारका सदस्यमध्य तीन जना बगेको आँखैअघि देख्नु भयो । एकैछिन पछि उहाँ पनि बग्नुभयो । झन्डै चार घण्टापछि माइला होसमा आउनु भयो । उहाँको उद्दार गरि सेनाले हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याएको हो ।

यसैगरी रोशी गाउँपालिकाका नरबहादुर सुनार पनि धुलिखेल अस्पतालको शैय्यामा छट्पटाइ रहनुभएको छ । पहिरोले गाउँ नै बगाउँदा सुनारको सबै सम्पत्ति बगायो । वर्षौंदेखि बस्दै आएको घरको नामोनिसान नै छैन ।

यसैगरी धुलिखेल अस्पतालमा उपचार गराइरहनु भएका काभ्रे भूमि डाँडाका लक्ष्मी हुमागाईंको अनुभव निकै दुःखदायी छ ।

धुलिखेल अस्पतालमा बाढी पहिरोले घाइते भएकाहरुको उपचार भइरहेको छ । उनीहरु चाँडै नै निको हुनेछन् । तर बिसेक भएपछि जानलाई न घर बाँकी रह्यो न आफन्त नै ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।

Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement