सरकारले भन्यो- यो वर्ष विपद्‌बाट ८५ जनाको मृत्यु

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारले भन्यो- यो वर्ष विपद्‌बाट ८५ जनाको मृत्यु

काठमाडौं । यस वर्ष बाढीपहिरो, भारी वर्षा तथा चट्याङजस्ता विपद्जन्य घटनाबाट ८५ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका तर्फबाट जवाफ दिँदै श्रममन्त्री डोलप्रसाद अर्यालले यस वर्षको विपद्जन्य घटनाको तथ्यांक प्रस्तुत गर्नु भएको हो ।

उहाँले ५५ वटा बाढीका घटनाबाट ४ जनाको मृत्यु, एक जना घाइते र २ जना बेपत्ता भएको र पहिरोबाट २४ जनाको मृत्यु र १ जना घाइते भएको जानकारी दिनुभयो ।

यस्तै, भारी वर्षाबाट २८ जनाको मृत्यु र ४ जना घाइते भएको तथा चट्याङबाट १९ जनाको मृत्यु भएको मन्त्री अर्यालले बताउनुभयो ।

आगामी आवको बजेट राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

उहाँले विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याइएको र जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुने गरी क्षेत्र तथा निकायगत जिम्मेवारी तोकिएको जानकारी दिनुभयो ।

यस्तै मन्त्री अर्यालले श्रम मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै विदेश जाने श्रमिकहरु नठगिने र म्यानपावर व्यवसायीहरुले पनि वैध रुपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिटै कार्यविधि बनाउने पनि बताउनुभयो ।

यस्तै शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा सुधारका लागि शिक्षक सरुवा कार्यविधि बनाइएको र विद्यालय रुपान्तरण कार्यक्रमसमेत सञ्चालन गरिएको जानकारी दिनुभयो । यस्तै, विषयगत शिक्षकको अभाव हटाउन एक हजार विद्यार्थीलाई तालिम दिएर पठाउन लागिएको पनि उहाँले बताउनुभो । मन्त्री श्रेष्ठले २०६९ देखि रोकिएको सीटीईभीटीअन्तर्गतका नर्सिङ कलेजको सम्बन्धन मापदण्ड बनाएर पुनः खुलाउनुपर्ने बताउनुभयो ।

यस्तै, अर्थ मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिनुभएको थियो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.